Prakash Adhikari May 19, 2024
दोहा, ६ जेठ (रासस/एएफपी) संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोधबाट ‘सर्वनाश’ परिणामको खतरा रहेको बताउनुभएको छ ।
“यदि इन्धन समाप्त भयो भने मानिसहरूलाई आवश्यक पर्ने स्थानहरूमा सहायता पुग्दैन, हामीले लामो समयदेखि भन्दै आइरहेको अनिकाल कायम रहने छ”, दोहामा कतारी अधिकारीहरूको बैठकका अवसरमा एएफपीलाई उहाँले भन्नुभयो, “मलाई लाग्छ अन्तर्राष्ट्रिय समुदायको नागरिकहरूका रूपमा हाम्रो चिन्ता, यसको परिणाम वास्तवमा अत्यन्त कठिन हुँदैछ, कठिन, कठिन र सर्वनाशकारी ।”
अन्तर्राष्ट्रिय आक्रोशका बीच दक्षिणी गाजा सहर रफाहमा इजराइली घुसपैठले गाजा पट्टीमा पहिलादेखि नै खतरनाक मानवीय सङ्कटलाई अझ गहिरो बनाएको छ ।
मानवीय मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव तथा आपत्कालीन राहत समन्वयकर्ता ग्रिफिथले दैनिक करिब ५० ट्रक सहायता गाजाको सबैभन्दा बढी प्रभावित उत्तरसम्म पुनः खोलिएको इरेज क्रसिङमार्फत पुग्नसक्ने बताउनुभयो । यद्यपि गाजाको दक्षिणमा रफाह र केरेम शालोम क्रसिङ नजिकै लडाइँहरूको अर्थ महत्त्वपूर्ण मार्गहरू ‘प्रभावकारीरूपमा अवरुद्ध’ भएको उहाँले बताउनुभयो । “त्यसैले दक्षिण र रफाहका लागि स्थलमार्ग पस्ने सहायता र रफाहबाट करिब शून्य छ”, उहाँले भन्नुभयो ।
राष्ट्रसङ्घले शनिबार रफाहमा हमास लडाकूहरूमाथि इजराइलको आक्रमणले आठ लाख मानिस ‘पलायनका लागि बाध्य’ भएको बताएको छ । इन्धन, खाद्यान्न र औषधि सकिँदै गएपछि दक्षिणी गाजा सहरमा सैन्य कारवाही ‘हामीले आशङ्का गरेको जस्तो’ भएको ग्रिफिथले बताउनुभयो ।
“हामी सबैले अत्यन्त स्पष्टरूपमा रफाह कारवाही मानवीय दृष्टिले विपत्ति हो भनेका छौँ, रफाहमा पहिलादेखि नै विस्थापित मानिसका लागि विपत्ति हो, यो उनीहरूको चौथो वा पाँचौँ विस्थापन हो”, उहाँले भन्नुभयो ।
प्रमुख स्थल क्रसिङ बन्द भएपछि यसै साता संयुक्त राज्य अमेरिकाले बनाएको अस्थायी फ्लोटिङ घाटमार्फत केही राहत आपूर्ति सुरु भएको छ । ग्रिफिथले समुद्री अभियानबाट ‘केही ट्रकको सहायता प्राप्त हुन थालेको’ भन्दै ‘यो स्थल मार्गको प्रतिस्थापन नभएको’ चेतावनी दिनुभयो ।
–––
Share Now