काठमाडौं, ७ जेठ ।आईसीसी पुरुष टी २० विश्वकप सुरु हुन अब दुई साता मात्र बाँकी छ। नेपालले अबको दुई सातापछि अमेरिकाको डालासस्थित ग्रान्ड प्रिरे क्रिकेट रङ्गशालामा द नेदरल्यान्ड्सविरुद्ध विश्वकपको पहिलो खेल खेल्नेछ।
छ महिना अगाडि नेपालमै आयोजना भएको प्रतिस्पर्धाबाट विश्वकपमा छनोट भएसँगै राष्ट्रिय क्रिकेट टोलीले यसपालि राम्रो तयारी गरेको देखिएको खेल विश्लेषकहरू बताउँछन्।
कुनै पनि प्रतियोगिता अगाडि राष्ट्रिय क्रिकेट टोलीले गरेको यो अहिलेसम्मकै उत्कृष्ट तयारी मानिएको छ।
यसक्रममा टोलीले नेपालमै वेस्ट इन्डिज ‘ए’लाई निम्त्याएको थियो भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको संयोजनमा भारतमा गएर त्यहाँको स्थानीय क्लबसँग पनि खेलेको थियो।
नेपाल सरकारले विश्वकप तयारीको लागि ५ करोड रुपैयाँ उपलब्ध गराएपछि टोलीले एक महिनाअगावै आयोजक राष्ट्र अमेरिका र वेस्ट इन्डिजमा पुगेर अभ्यास खेलहरू खेलिरहेको छ।
अबको तालिका
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सहभागी सबै २० राष्ट्रलाई दुईवटा आधिकारिक वार्मअप खेल दिएकोमा नेपालले क्यानडा र अमेरिकासँग त्यस्तो खेल खेल्ने भएको छ।
नेपालले मे २७ तारिखमा क्यानडासँग र मे ३० मा आयोजक अमेरिकासँग खेल्नेछ। कतिपयले नेपालले वार्मअपमा टेस्ट टोली पाउने आशा गरेका थिए।
आइसीसीले यी खेलले टी २० आईको मान्यता भने नपाउने जनाएको छ।
दुवै खेल ग्रान्ड प्रिरे रङ्गशालामा हुनेछ। यही मैदानमा अमेरिकाले उद्घाटन खेलमा क्यानडासँग र त्यसको दुई दिनपछि नेपालले द नेदरल्यान्ड्ससँग खेल्नेछ।
उक्त आधिकारिक वार्मअप खेल्नु अगाडि टोलीले ह्युस्टनमा दुई वटा अभ्यास खेल खेल्ने तालिका छ।
ह्युस्टन हरिकेन्स टोलीसँग नेपालले यसै हप्ता मे २२ र २३ मा दुई अभ्यास खेल खेल्न लागेको हो।
त्यसको लागि वेस्ट इन्डिजमा तीन वटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली अमेरिका पुगिसकेको छ।
उच्च अदालत पाटनबाट सफाइ पाएर नेपाल क्रिकेट सङ्घको निलम्बन पनि फुकुवा भइसकेका सन्दीप लामिछाने पनि सो अभ्यास खेलमा जोडिने सम्भावना रहेको बताइएको छ।
कस्तो छ तयारी
पछिल्लो तीन सातामा राष्ट्रिय क्रिकेट टोलीले जम्मा सात वटा अभ्यास खेल खेल्ने तालिका थियो। त्यसअनुसार टोली मे महिनाको पहिलो साता अमेरिका उडेको थियो।
सुरुमा फ्लोरिडामा टोलीले केही दिन अभ्यासमा बितायो। त्यहाँबाट उनीहरू वेस्ट इन्डिज उडे।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा पुगेर टोलीले त्यहाँको स्थानीय टोली सेन्ट भिन्सेन्ट एन्ड विन्डवार्डसँग मे १४, १६ र १८ मा गरी तीन वटा मैत्रीपूर्ण खेल खेल्यो।
तीनमध्ये टोलीले दुई खेलमा जित तथा एउटामा हार बेहोरेको थियो।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले यी तीन खेलमा नेपालका फरकफरक खेलाडीहरूको प्रयोग गरेका थिए।
अफिसियल वार्मअप अप म्याच खेल्न नेपाली टोली मे २५ मा डालास पुग्नेछ।
जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले भने जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग खेल्नेछ।
त्यसपछि फ्लोरिडामा जुन १२ मा दोस्रो खेल खेलेर टोली वेस्ट इन्डिज लाग्नेछ।
वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लिगको अन्तिम खेल खेल्नेछ।
नेपालको आगामी यात्रा यी ४ खेलको नतिजाले तय गर्नेछ।
नेपाली क्रिकेटका सर्वाधिक चर्चित स्टार सन्दीप लामिछाने बिनै उच्च प्रदर्शनको तयारीमा रहेको नेपाली टिम सन्दीप लामिछाने टिममा जोडिने खबरले अत्यन्त उत्साहित छ । विश्वका सबै चर्चित खेलाडीसंग बिभिन्न लिगमा खेलिसकेका सन्दीपको पुनरागमनले नेपाली टिमले गुणस्तरीय खेलाडीको पूर्णता पाएको छ । झण्डै दुईबर्ष देखि अन्तर्राष्ट्रिय लिग खेल्न नपाएका सन्दीप यो विश्वकपमा आफ्नो पूर्ण क्षमता उपयोग गर्न अत्यन्त ब्यग्र देखिन्छन् । यसपटक नेपालले चमत्कार गर्ने पनि कतिपय क्रिकेट खेल विश्लेषकहरुको आशा छ ।
नेपाली टिम
नेपाली टोलीमा रहेका खेलाडीहरूमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, कमल सिंह ऐरी, प्रतिश जिसी, ललित नारायण राजवंशी र सागर ढकाल रहेका छन्।
नेपाली क्रिकेटस्टार सन्दीप लामिछानेलाई टिममा सामेल गर्न आईसीसीले अनुमति दिइसकेको छ भने नेपाल क्रिकेट संघले पनि उनको निलम्बन फुकुवा गरेर विश्वकपमा सहभागी गराउने निर्णय गरिसकेको छ । उनको स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती परीक्षण गरेर उनलाई सहभागी गराउन क्रिकेट एशोसिएसनले सबै प्रक्रिया अबलम्बन गरिरहेको छ । उनी छिट्टै विश्वकपका अभ्यास खेल, वार्म अप खेल र विश्वकपका सबै खेल खेल्न अमेरिका उड्ने तयारीमा छन् ।
त्यस्तै प्रतियोगितामा जाने नेपाली अधिकारीहरूमा मोन्टी देशाई (मुख्य प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), रड इस्टविक (बलिङ कन्सल्टेन्ट), नन्दन फाद्निस (क्रिकेट कन्सल्टेन्ट), रमण सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (स्ट्रेन्थ एन्ड कन्डिसन) र प्रदीप मजगैया (व्यवस्थापक) रहेका छन्।
(स्रोतःनिरञ्जन राजवंशी / बीबीसी न्यूज नेपाली)


















