म्याग्दी/बाजुरा, ७ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन हुनुभएको छ भने बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित हुनुभएको छ ।
जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।
समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित हुनुभएको सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।
अधिवेशनको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । अधिवेशन उद्घाटनका क्रममा उपमहासचिव गुुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट र प्रदेश अध्यक्ष शर्माले नेपाललाई समृद्धिको मार्गमा लैजान बामपन्थी शक्तिहरुको सहकार्य आवश्यक भएको बताउनुभएको थियो ।
बाजुराको अध्यक्षमा लालबहादुर ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले दुई सय १८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले दुई सय तीन मत पाउनुभयो ।
उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले दुई सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले एक सय २० मत पाउनुभयो । सचिवमा विजयी काशीबहादुर विकले दुई सय ४१ पाउँदा प्रत्यासी जनक विष्टले एक सय ७१ मत पाउनुभयो ।
साथै उपसचिव (खुला)मा विजयी हरिबहादुर रोकायाले दुई सय ७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले एक सय १५ मत तथा उपसचिव (महिला)मा विजयी राजकला सार्कीले दुई सय ७७ मत पाउँदा प्रत्यासी कल्पना महतले एक सय २६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिनुभएको छ ।
यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा चार सय ३९ जना प्रतिनिधि हुनुहुन्थ्यो । जसमा चार सय २५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।
—


















