
काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला असार ५ गतेदेखि हेटौडामा हुने भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले सभापतिहरूको भेलाको मिति तय गरेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय भएको बताए ।
वैशाख १६ गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको थियो।
जिल्ला सभापतिहरुको भेला सम्पन्न भएपछि साउनमा नेपाली कांग्रेसले महासमितिको बैठक राख्ने निर्णय गरिसकेको छ ।
पार्टीको महाधिवेशन सकिएको अढाई बर्षसम्म पनि महासमितिको बैठक हुन नसकेकोमा कांग्रेसभित्रैबाट सभापतिको आलोचना हुने गरेको थियो।
मुलुक संघीयताको कार्यान्वयन चरणमा गइसक्दा पनि कांग्रेसको संगठन सो अनुरुपको बन्न सकेको छैन । प्रादेशिक तहमा कांग्रेसको कुनै संरचना नै छैन् ।
स्थानीय तह, प्रदेश र संसदीय निर्वाचन क्षेत्रमा समायोजन गर्नुपर्ने खाँचो छ भने थपिएका दुई जिल्ला नवलपरासी पूर्व तथा रुकुमपूर्वमा पनि कांग्रेसको निर्वाचित नेतृत्व ल्याउनु पर्ने आवश्यकता छ ।