Prakash Adhikari May 22, 2018

काठमाडौं,८ जेठ । प्रहरीले ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई काठमाडौको गौरीघाटबाट पक्राउ गरेको छ ।

सुन तस्करीको बारेमा छानवीन गरिरहेको समितिले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।

समितिका अनुसार उनलाई विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी हराएपछि यसमा संलग्न उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन काण्डका नयाँ पाटाहरु उद्घाटित हुँदै गएको हुन् ।

यस घटनामा प्रहरी सहित ६३ जनालाई जिल्ला अदालत, मोरङमा मुद्दा चलाइएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह(सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा गोरेले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागे ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ(११ फुटबल क्लबमा समेत आबद्ध थिए ।

दूबई प्रहरीमा काम गर्दा सुनको व्यापारको संभावना देखेर उनी जागिर छाडेर तस्करीलाई लागेका थिए ।

उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका गोरेको काठमाडौंको गोेरीघाटमा पनि आलिसान बंगला छ । तर उनले धन्दा भने बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन चलाउथे ।

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।

Share Now

Leave a comment.