डालस(टेक्सास,संयुक्त राज्य अमेरिका), १७ जेठ । आइसीसी पुरुष टी २० विश्वकप खेलको लागि अमेरिका पुगेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज विश्वकपको दोस्रो वार्म अप खेल आयोजक राष्ट्र अमेरिकाको विश्वकप टोलीसँग खेल्दै छ ।
टेक्साास राज्यको ड्याल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ९ः१५ (अमेरिकाको स्थानीय समय अनुसार बिहान १०ः३० बजे०) सुरु हुनेछ।
सोमबार सम्पन्न पहिलो वार्म अप म्याचमा नेपाली राष्ट्रिय टोली क्यानाडाको विश्वकप टोलीसँग ६३ रनले पराजित भएको थियो। सोही मैदानमा मंगलबारका लागि तय अमेरिका र बंगलादेशबीचको वार्म अप खेल भने बर्षाका कारण रद्द भएको थियो। डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले बंगलादेशलाई २ १ ले हराएको थियो। यसैले अमेरिकी टोलीलाई कम आँक्न नहुने क्रिकेट पण्डितहरु बताउँछन् ।
जुन १ बाट सुरु हुने विश्वकपमा नेपाली विश्वकप टोलीले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोलीले जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।
यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।