काठमाडौं, १७ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आईसीसी पुरुष टी ट्वान्टी विश्वकपका खेल खेल्न अमेरिका जाने संभावना बढेको छ । उनले अमेरिकाको भिसाका लागि दिएको पुनरावलोकन निवेदन अनुसार भिसा दिने सन्दर्भमा हुने अन्तर्वार्ताको लागि अमेरिकी दूताबासले आज ४ बजे अन्तर्वार्ताको लागि बोलाएको छ।
विश्वकप क्रिकेटका लागि सन्दीपलाई अमेरिका जाने भिसा दिन भनी सरकारले अमेरिकी दूताबासलाई नोट पनि लेखिसकेको छ।
भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने कार्यक्रम छ।
उमेर पुगेकी युवतीसंगको सहबास प्रकरणमा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई पनि विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो।
आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले उनलाई अमेरिका पठाउने प्रक्रिया सुरु गरेको थियो।
तर अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जाने प्रक्रिया रोकिएको थियो । उनको भिसा प्रक्रियामा बढेको अन्योल र टिममा उनको अपरिहार्य आवश्यकतालाई ख्याल गरेर क्यानले एक खेलाडीको नाम खाली राखेर आईसीसीलाई १४ सदस्यीय टिमको नाम बुझाएको बताइन्छ ।
क्यानडासंगको वार्मअप खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएसंगै नेपालमा सन्दीपलाई विश्वकप खेलाउन पठाउन सरकारलाई दबाब बढिरहेको छ । उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शनसमेत गरेका थिए।
विगतमा पनि पुनरावेदन पछि भिसा लागेर अमेरिका गएका सन्दीप ढिलो चाडो भिसा पाएर विश्वकपमा खेल्न पाउने विश्वासका साथ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा पनि छन् । आज मात्रै कीर्तिपुरको क्रिकेट मैदानको अवलोकन गर्न पुग्नुभएका युवा तथ खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सन्दीपलाई निकै ढाडस दिंदै सच्चा खेलाडीलाई सरकारले सदैव साथ दिने बताउनुभएको थियो ।
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आईसीसी पुरुष टी २० विश्वकप क्रिकेट हुँदै छ।
त्यसका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पुगिसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल सकेर वल्र्डकपका अफिसियल वार्मअप खेल खेलिरहेको छ। नेपालले क्यानडासंग वार्मअप खेल सकेको छ भने अमेरिकासंग आज दोस्रो वार्मअप खेल खेल्दै छ ।
यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।