Prakash Adhikari May 30, 2024

काठमाडौं, १७ जेठ (बीबीसी) । दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घका एक सदस्यले बताएका छन्।

दूतावासको निर्णयपछि अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यकारी सदस्य दुर्गाराज पाठकले बीबीसी न्यूज नेपालीलाई बताए।

एक किशोरीसँग सहबास सहबास प्रकरणमा मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई क्यानले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।

निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।

त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए।

तर अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो।

लामिछानेले पुनरावेदन गर्दै गर्दा क्यानले मे २५ मा १५-सदस्यीय टोलीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो।

तर लेगस्पिनर लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ खेलाडीको नाम भएको सूची मात्र बुझाएको बताइएको छ।

क्यानको खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भनेका थिए, “आईसीसीलाई अनुरोध गरेर हामीले हाल १४ खेलाडीको नाम मात्र बुझाएका छौँ। आईसीसीले केही दिनका लागि पर्खिन सहमति दिएको छ।”

लामिछानेले भिसा पाएपछि उनको नाम टोलीमा समावेश गरिने र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा राख्ने क्यानको योजना थियो।

हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन्।

त्यस्तै ‘पार्टटाइम’ स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन्।

क्यानले के गरेको थियो?

क्यानले अदालतको निर्णयबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको बताएको थियो।

क्यानका सचिव पारस खड्काले गत साता लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए।

लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो।

अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपाल पनि सहभागी हुन लागेको छ।

Share Now