काठमाडौं, ९ जेठ । वामपन्थी नेता ऋषि कट्टेलले हालै एकीकृत भएको पार्टीका अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दहाल नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष नरहेको बताएका छन् ।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रहेका कट्टेलले २०६९ सालमा नेपालको अन्तरिम संविधान अनुसार निर्वाचन आयोगमा दर्ता भई आफ्नो पार्टि अद्यापि क्रियाशील रहेको दावी गरेका छन् । उनले आफ्नो पार्टी नेपालको संविधान २०७२ र दलसम्वन्धिकानुन २०७३ अनुसार निर्वाचन आयोगमा बिधिवत दर्ता भएको उल्लेख गर्दै दल सम्वन्धि एैन २०७३को ६ (ड.)मा एउटै नामको दुई दल दर्ता हुन नसक्ने प्रष्ट कानुनी ब्यवस्था रहेको स्मरण गराएका छन् ।
बामपन्थी नेता कट्टेलले एकीकृत भएर नयाँ बनेको दलले निर्वाचन आयोगमा नेकपाको नाममा दल दर्ता गरेको प्रचार झूटो भएको बताउदै निर्वाचन आयोगले समेत अण्डरलाईन लगाएर त्यसलाई यथावत स्वीकार गर्न नसक्ने जानकारी दिएको उल्लेख गरेका छन् ।उनले एकीकृत पार्टीले पठाएको निवेदनसम्म आयोगले दर्ता गरेको तर दल दर्ता पछि राज पत्रमा सूचना प्रकाशित नभएको स्पष्ट पारेका छन् ।
उनले सञ्चार माध्यमहरुलाई नयाँ एकीकृत दलका अध्यक्षहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षको रुपमा प्रचार नगरिदिन पनि सञ्चार माध्यम र सञ्चारकर्मीसंग आग्रह गरेका छन् ।