
एम्सटर्ड्याम(नेदरल्यान्ड्स), १२ जेठ(बीबीसी) । सन् २०१४ को जुलाईमा युक्रेनको आकाशबाट मलेसिया एअरलाइन्सको यात्रुवाहक विमान रुसले खसालेको भनेर उसलाई औपचारिक रूपमै आफूहरूले जिम्मेवार मान्ने नेदरल्यान्ड्स तथा अस्ट्रेलियाले बताएका छन्।
युक्रेनस्थित विद्रोहीनियन्त्रित इलाकामा मलेसिया एअरलाइन्सको एमएच-१७ विमान क्षेप्यास्त्र प्रहार गरी खसालिँदा विमानमा सवार सबै २९८ को ज्यान गएको थियो।
सो विमान नेदरल्यान्ड्सको एम्सटर्ड्यामबाट मलेसियाको क्वालालम्पुरतर्फ जाँदै थियो।
निष्कर्ष
बिहीवार नेदरल्यान्ड्सले नेतृत्व गरिरहेको टोलीका अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरू सो क्षेप्यास्त्र रुसी सैन्य ब्रिगेडको भएको निष्कर्षमा पुगेका थिए।
सो विमान क्षतिग्रस्त हुनुमा आफ्नो कुनै खाले संलग्नता नरहेको रुसले दाबी गर्दै आएको छ।
मस्कोको रक्षा मन्त्रालयले “डच अनुसन्धानकर्ताहरूले प्रस्तुत गरेको निष्कर्ष आफूले स्वीकार नगर्ने” बताएको छ।
यसअघि उसले एमएच१७ विमान खसाल्नमा आफ्नो कुनै पनि अस्त्रहको प्रयोग नभएको भनेर जोड दिएको थियो।
तर अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको टोलीले सो क्षेप्यास्त्र ओसार्न प्रयोग भएका सबै गाडीहरू रुसी सशस्त्र फौजको भएको निष्कर्ष निकालेको थियो।
अनुसन्धान टोलीले पत्रकार सम्मेलनमा एक क्षतिग्रस्त क्षेप्यास्त्र प्रदर्शन गरेको छ।
पूर्वी युक्रेनस्थित विद्रोही नियन्त्रित क्षेत्रबाट सो क्षेप्यास्त्र प्रहार गरिएको थियो।
सो क्षेप्यास्त्र प्रहार गरिएपछि मलेसिया एअरलाइन्सको विमानमा सवार १९३ जना डच नागरिक, मलेसियाका ४३ तथा अस्ट्रेलियाका २७ जनाको ज्यान गएको थियो।
त्यस्तै इन्डोनेसिया, ब्रिटेन, बेल्जियम, जर्मनी, फिलिपिन्ससहित अन्य देशका मानिस पनि मारिएका थिए।
उल्लङ्घन
रुसको त्यस्तो कार्य, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको नेदरल्यान्ड्स तथा अस्ट्रेलियाले बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै नेदरल्यान्ड्स सरकारले तथा अस्ट्रेलियाकी विदेशमन्त्री जुली बिशपले सो घोषणा गरेका हुन्।
तर कुनै पनि देशलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेकोमा जिम्मेवार ठहराउनका लागि ‘एउटा जटिल कानुनी प्रक्रिया’ आवश्यक हुने सो विज्ञप्तिमा जनाइएको छ।
अस्ट्रेलिया तथा नेदरल्यान्ड्स दुवैले पहलो कदमस्वरूप वार्तामा आउनका लागि रुसलाई आह्वान गरेका छन्। तर सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा पुर्याउने सम्भावना तत्कालका लागि उनीहरूले थाँती राखेका छन्।
त्यसको केही घण्टापछि नै युरोपेली सङ्घ (ईयू), उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) तथा ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले पनि रुसलाई सो घटनाको जिम्मेवारी लिन आ-आफ्ना तर्फबाट आह्वान गरेका छन्।
रुसी पक्षधर पृथक्तावादीहरू तथा युक्रेनी फौजबीचको द्वन्द्व उत्कर्षमा पुगेका बेला २०१४ को जुलाई १७ तारिखमा सो विमानमा क्षेप्यास्त्र प्रहार भएको थियो।