काठमाडौं, ६ आषाढ । युरो कप २०२४ अन्तर्गत समूह ‘ए’ मा लगातार दोस्रो जित निकाल्दै आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ।
गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी सुपर १६ मा पुग्ने पहिलो टोली बनेको हो।
जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १ गोल गरे। खेलको २२ औँ मिनेटमा गुनडोगानको पासमा मुसियालाको गोलमा जर्मनीले सुरुवाती अग्रता बनाएको थियो। ७६ औँ मिनेटमा गुन्डोगानको गोलमा जर्मनीले अग्रता दोब्बर पारेको थियो।
समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो जित निकालेको जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको हो।
लगातार दोस्रो जितसहित जर्मनी ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। हंगेरीले भने युरोकपमा लगातार दोस्रो पराजय व्यहोरेको छ।
स्कटल्यान्ड र स्वीटजरल्यान्ड बराबरीमा
गएराति नै भएको यही समुहको अर्को खेलमा भने स्कटल्यान्ड र स्वीटजरल्यान्डले भने १–१ गोलको बराबरी गर्दै अंक बाँडेका छन्।
अंक बाँडेसँगै स्वीटजरल्यान्ड ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। स्वीटजरल्यान्ड भने १ अंकमा तेस्रो स्थानमा छ। अंक विहिन हंगेरी समूह ‘ए’ को पुछारमा छ।
क्रोएसिया र अल्बानिया पनि बराबरीमा
युरोकप २०२४ अन्तर्गत समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।
बुधबार राति भएको समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्।
समूह चरणको दोस्रो खेलमा अंक बाँडेसँगै अल्बानिया अंक तालिकाको तेस्रो र क्रोएसिया चौथो स्थानमा छन्।
हारनजिक रहेको अल्बानियाले अन्तिम समयमा गोल फर्काउँदै रोमाञ्चक बराबरी गरेको हो।
खेलको ११औँ मिनेटमा कासिम लासीको हेडर गोलमा अल्बानियाले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा अग्रता बनाएको अल्बानियाले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ७४औँ मिनेटमा आन्द्रेज क्रामारिचको गोलमा क्रोएसिया बराबरीमा आएको थियो।
तर त्यसको दुई मिनेटमा नै क्लाउस जासुलाको गोलमा आत्मघाती गोलमा क्रोएसियाले अग्रता बनायो।
क्लियर भइसकेको बल जासुलालाई लाग्दै गोलमा परिणत भएपछि क्रोएसियाले अग्रता बनायो। तर खेलको इन्ज्युरी समयमा जासुलाकै गोलमा अल्बानियाले रोमाञ्चक बराबरी गर्दै अंक बाँडेको हो।


















