Prakash Adhikari June 28, 2024
सानोथिमी(भक्तपुर), १४ आषाढ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा गणित विषयमा सबैभन्दा धेरै विद्यार्थी फेल भएको पाइएको छ ।
यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ ।गणित विषयमा १ लाख ७७ हजार ९ सय ८५ विद्यार्थीको एनजी आएको छ । यस्तै विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ तथा अङ्ग्रेजीमा १ लाख १ हजार ३ सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्रा डा शर्माले बताउनुभयो ।
सामाजिकमा ७३ हजार ८ सय ७७, नेपालीमा ६९ हजार ५ सय ३२, अर्थशास्त्रमा ६९ हजार ४ सय १६ तथा ऐच्छिक गणितमा २० हजार ३ सय ५२ विद्यार्थीको एनजी आएको छ ।
दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ ।
साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पुरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यस वर्षको एसइई नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्रा डा महाश्रम शर्मा बताउनुहुन्छ । उहाँका अनुसार माथिल्लो जिपिए ल्याउनेको सङ्ख्या बढेसँगै नतिजा सुधार भएको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार आठ सय ७४ विद्यार्थीले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए प्राप्त गरेका छन् । सबैभन्दा कम ६ विद्यार्थीले १ दशमलव ६० देखि २ दशमलव ० जिपिए ल्याएका छन् ।
त्यस्तै एक सय ८६ विद्यार्थीले ४ जिपिए, ३१ हजार २०९ जनाले ३ दशमलव ६० देखि ४ दशमलव ० जिपिए, ६८ हजार २ सय ५६ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए र ७८ हजार ८ सय ७४ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए, ४१ हजार १ सय ७७ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए र २ हजार ९ सय ५० जनाले २ दशमलव ०० देखि २ दशमलव ४० जिपिए ल्याएका छन् ।
यस्तो छ प्रदेशको नतिजा
आज सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको एसइई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८ सय ७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार ८ सय ४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी सहभागी भएकामा ४९ हजार २ सय २४ जनाको ननग्रेड (एनजी) आएको छ । मधेश प्रदेशमा ७९ हजार ५ सय ९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार २ सय ८६ जनाले ननग्रेड (एनजी) तथा कोशी प्रदेशमा ७५ हजार ९ सय ८८ जना सहभागी भएकामा ३९ हजार ८ सय ९५ जनाको ननग्रेड (एनजी) आएको छ ।
गण्डकी प्रदेशमा ४० हजार ५ सय २६ विद्यार्थी सहभागी भएकामा २० हजार २सय ७५ जनाको ननग्रेड (एनजी) आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार ३ सय ८० जनाको ननग्रेड आएको छ । सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार ४ सय ४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार ४ सय १० जनाको ननग्रेड आएको छ । उनीहरुले पुरक परीक्षामा सहभागी हुनुपर्ने छ ।
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण भएकामध्ये १ सय ८६ जनाले ४ जीपीए ल्याएको बताउनुभयो ।
परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । १ लाख १४ हजार ४८ छात्र र १ लाख २८ हजार २ सय ५७ छात्रासहित कुल २ लाख ४२ हजार ३ सय १३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको छ ।
बोर्डका अध्यक्ष प्रा डा शर्माका अनुसार एउटा विषयमा एनजी आउने ६७ हजार ७ सय ९३ र दुई विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ ।
यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । एक सय पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अङ्क आएमा ‘एनजी’ ननग्रेडड आउँछ ।
Share Now