Prakash Adhikari May 29, 2018

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक शुभकामना सन्देश दिंदै राजनीतिक नेताहरुलाई आफ्नो दायित्व पूरा गर्न कटिबद्ध भएर लाग्न आग्रह गरेकी छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ठ चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको बताएकी छन् ।

उनले राज्यको नेतृत्व पंक्ति उक्त दायित्व पूरा गर्न अग्रसर हुनुपर्ने विश्वास व्यक्त गर्दै सम्बद्ध सबै पक्षलाई देशको आवश्यकता र जनताको सामयिक आकांक्षालाई मूर्तरुप प्रदान गर्न सफलता मिल्न सकोस् भन्ने शुभकामना दिएकी छन् ।

२०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो।

राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्दै मुलुकको प्रमुख पदमा जनताबाट निर्वाचित प्रतिनिधि रहने व्यवस्था गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउँदै आइएको छ।

उपराष्ट्रपतिको शुभकामना

यसै गरि गणतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति नन्दकिशोर पुनले सम्पूर्ण नेपालीमा शुभकामना दिंदै भनेका छन्, सम्पूर्ण शासकीय अधिकार सार्वभौमसत्ता सम्पन्न जनतामा आउने गरी जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरेको परिघटना नेपालीहरुको सपना साकार भएको ऐतिहाँसिक दिन हो ।

उनले सन्देशमा भनेका छन्, नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको स्वर्णीम दिन गणतन्त्र दिवस–२०७५ को सुखद अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Share Now

Leave a comment.