
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीलाई शुभकामना दिएका छन् ।
उनले आफ्नो शुभकामना सन्देशमा नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
उनले गणतन्त्र दिवस २०७५ का अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली पनि अर्पण गरेका छन् ।
शुभकामना सन्देशमा उनले नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको स्मरण गरेका छन् ।
नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको कुरा उल्लेख गर्दै भनेका छन्, यी ऐतिहासिक निर्वाचन सम्पन्न भए पश्चात मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ ।