
काठमाडौँ, १५ जेठ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीहरुले सजाय माफी पाएका छन् ।
गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् ।
उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो ।
यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता विरोध प्रदर्शन भइरहेको छ भने सर्वोच्च अदालतमा रिट समेत परेको थियो ।
सोमवार अदालतले ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मगाएको थियो ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘ जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत आठ सय सोह्र जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’
द्वन्द्वकालिन मुद्दामा बालकृष्ण ढुंगेलले जेल सजाय भोगिरहेका थिए । उनले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएको कारागार व्यवस्था विभागले जनाएको छ ।
ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए ।