चौतारा (सिन्धुपाल्चोक), २२ असार : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएा हुन् ।
आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् । उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।
उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो ।
१० मजदुरको सकुशल उद्धार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका १० जना कामदारहरूको सकुशल उद्धार गरिएको छ।
शुक्रबार पुरिएका मजदुरको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तातोपानी सिन्धुपाल्चोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षाकर्मीले उद्धार गरेको हो।
उनीहरु सबै घाइते छन् । उनीहरुको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ ।
उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौंतर्फ ल्याइएको सशस्त्रले जनाएको छ।
–––


















