धनुषा, २२ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । उहाँले ६७ मत पाउनुभएको छ । विपक्षमा ३४ मत खसेको थियोे । प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए ।
मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गर्नुभयोभने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको हो ।
मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा (माओवादी केन्द्र) का नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक प्रदेशसभा सदस्य छन् ।
छ जना मन्त्री बर्खास्त
यस अगाडि मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।
मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उहाँरूले राजीनामा नदिएपछि उहाँहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले राससलाई बताउनुभयो । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गर्नुभएको हो ।
—


















