काठमाडौं, २२ आषाढ । गएरातिदेखि अविरल परेको बर्षाले देशका विभिन्न भागमा पहिरो,बाढी, सडक कटान र डुबानका समस्या उत्पन्न गरेको छ । काठमाडौंको नागार्जुनमा पहिरोले पुरिएर एक एक जनाले जीवन गुमाएका छन् भने दोलखामा एकजना बेपत्ता भएका छन्। यस्तो छ, देशभरको रिपोर्टः
बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
घोराही (दाङ) । बाढीमा परी यहाँ एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । दर्जनौँ घर डुबानमा परेका छन् ।
आज बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।
लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपाल प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको छ । सेवार खोलाको बाढीले ‘डाइर्भसन’ बगाउँदा घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ ।
काठमाडौँमा पहिरामा पुरिएर मृत्यु
काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो ।
पहिरो भने बिहान ११ बजेतिर खसेको थियो । काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ ।
हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ । विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सुकुम्वासी बस्ती डुबानमा
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरुमा जलस्तर बढेसँगै बल्खुको सुकुम्वासी बस्ती, त्यहाँको तरकारी बजारमा बाढी पसेको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका खबर आएका छन्, हाम्रो प्रहरी टोली उद्धारका लागि खटिएको छ ।” यसैगरी बागमतीमा आएको बाढीका कारण करिडोर सडक जलमग्न भएको प्रहरीले जनाएको छ ।
यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।
काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ ।
उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।
निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सो बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति छ ।
दोलखामा एकजना बेपत्ता, तीन घर बगे
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् ।
शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आउनुभएको थियो ।
पुल भत्किँदा राजविराज–कञ्चनपुर सडकखण्ड अवरुद्ध
सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ । तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिनुभयो । उहाँले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पु¥याएको बताउनुभयो ।
यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा खेतीबालीलाई क्षति पु¥याएको छ । तिरहुत–२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पु¥याएको जानकारी दिनुभयो ।
बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन् । खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन् ।
बिपी र अरनिका राजमार्ग एकतर्फी सञ्चालन
बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन् ।
काभ्रेपलाञ्चोक भएर सञ्चालित बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गलजनविजय मावि अगाडि, वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकाले समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको छ । रोशी–७ ल्हासकोटस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएकामा यहाँ रातिदेखि प्रहरीले सडक सञ्चालनको पहल गरेको थियो ।
स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा जेसिबी र स्काभेटरको सहयोगमा सडक खुलाएर अहिले एकतर्फी सवारी सञ्चालन भइरहेका प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।
आज बिहान अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका–८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरुद्ध भएको थियो । सो स्थानमा पनि अहिले एकतर्फीरुपमा सवारी सञ्चालन भइरहेका उहाँले बताउनुभयो ।
उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रुख ढलेर अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रुपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।
कान्तिलोकपथ अवरुद्ध
अविरल वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्घ हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।
कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिनुभएको जानकारीअनुसार वर्षात्का कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ । अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताउनुभयो । महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भन्नुभयो “अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन ।”
पहिराले मुग्लिन–मलेखु सडक अवरुद्ध
अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फि अवरुद्ध बनेको हो । उहाँले भन्नुभयो “अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । ” प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताउनुभयो ।
शुक्लागण्डकीको कल्भर्ड बगायो, यातायात ठप्प
पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् ।
सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो । उहाँले भन्नुभयो, “कल्भर्ड बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।”
म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।”
पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
म्याग्देको घुम्तीका घर डुबानमा
अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् ।
शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् । उहाँले भन्नुभयो, “प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्नेतथा स्थानीय विस्थापित हुने गरेका छन् ।”
जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नुभएको छ ।
मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्यो
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो ।
सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ गौतमले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार मर्स्याङ्दी नदीको सतह १०.२५ मिटरभन्दा माथि आएको छ । जिल्लाको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका हुँदै यो नदी मुग्लिनमा पुगेर त्रिशूलीमा मिसिन्छ ।
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध
अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताउनुभयो । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ ।
स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन ।
बागलुङमा पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।
सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिनुभयो । अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशुचौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
“पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्”, वडाध्यक्ष कँडेलले भन्नुभयो, “मानवीय क्षति हुन नदिन तयारी अवस्थामा उद्धारका लागि खटिएका छौँ ।”
पहिरोले वडा नं ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार पनि विस्थापित भएका वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । यस क्षेत्रका एक दर्जन घर पहिरोको जोखिममा छन् । दुई सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल जोखिममा परेको उहाँले बताउनुभयो ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउन मेसिनको प्रयोग गरेर पहिरो हटाउन पहल गरिएको बताउनुभयो । निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बासको व्यवस्थापन गरेको छ ।
“वर्षा रोकिएको छैन, पहिरो पनि निरन्तर खसिरहेकाले धेरै घर जोखिममा छन्, अहिले हामी उद्धार र स्थानान्तरणमा जुटेका छौँ । पहिरो पन्छाएर बस्ती जोगाउने प्रयास गरिरहेका छौँ, वर्षा नरोकिँदा अझै जोखिम बढ्ने सम्भावना छ”, अध्यक्ष थापाले भन्नुभयो, “घरमा बस्न जोखिम भएपछि केहीले छिमेकीको घरमा आश्रय लिनुभएको छ भने केहीलाई सुरक्षित स्थान खोजेर राख्न थालेका छौँ ।”
प्रहरी चौकी पुरियो
अविरल वर्षाका कारण पहिराले जिल्लामा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाले चौकी माथिदेखि पहिरो खस्दा पञ्चकोट प्रहरी चौकीको भवन पुरिएको हो । पहिरोले बागलुङ–६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिढी र पर्खाल पनि भत्किएको छ ।
मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन वटा कोठा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले चौकी निर्माण गरेको भन्दै उक्त भवन पहिराले भत्किएपछि अन्यत्र सार्ने तयारी भइरहेको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट १० जना र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट १४ जनाको टोली घटनास्थल पुगेर उद्धार थालिएको प्रउ कँडेलले बताउनुभयो । उक्त चौकीमा पाँच जना प्रहरी जवान बस्दै आएका थिए ।
प्रहरी उपरीक्षक कँडेलले भन्नुभयो, “अहिले पनि ठूलो पानी परिरहेको छ, पहिराले प्रहरी चौकी बगाएपछि यहाँ बस्दै आएका जवानलाई गण्डकी सभाहलमा व्यवस्थापन गरिएको छ । मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ ।” पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा क्षति पु¥याएको छ ।
सेतीवेणी र शालिग्राम शिला डुबानमा
केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिनुभयो ।
कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला डुबानको जोखिममा परेका हुन् ।
वर्षा नरोकिए केही बेरमा बजारसम्म आइपुग्ने र पसलमा क्षति पुग्ने अवस्था देखिएको स्थानीय तिलक पराजुलीले बताउनुभयो । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको परालुलीले बताउनुभयो ।
यसैबीच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका दुई सयबढी व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।
विगत १५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो ।
स्थानीय प्रहरी चौकीका इञ्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण तरङ्ग खोलाको ह्युमपाइप बगाएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।
करिडोर अवरुद्ध भएपछि गैँडाकोटबाट पहाडी क्षेत्रका लागि छुटेका र नवलपुरको पहाडी क्षेत्रसहित रामपुरबाट गैँडाकोटतर्फ आउँदै गरेका सवारी बाटोमा अलपत्र परेका छन् । ह्युमपाइप बगाएपछि खोला वारपार गर्नसक्ने अवस्था नभएको स्थानीय भोज पुलामीले बताउनुभयो । ह्युमपाइप राख्नसके यातायात सञ्चालन हुनसक्ने उहाँले बताउनुभयो ।
ह्युमपाइप बगाएपछि राखिएका सवारीलाई वारपार गराउन र ह्युमपाइप राख्न विषयमा समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी रु तीन करोड ७३ लाखमा ठेक्का लागेको थियो । यही असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले काम सम्पन्न नगर्दा अहिले यात्रुहरुले सास्ती खेप्नुपरेको छ । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा तरङ्ग खोलाको पुलमात्र निर्माण गर्न बाँकी रहेको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेको र बाटोमा बिग्रिएको सवारीका कारण एकतर्फी रुपमा सवारी सञ्चालनमा रहेको छ । यसले गर्दा सवारीसाधनको लामो लाइन लागेको छ ।
पूर्वपश्चिम राजमार्गकै डण्डा–चोरमारा–अरुणखोला–दुम्कीबासको विभिन्न खण्डमा बाटो चिप्लो हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । जिल्लाको पहाडी क्षेत्र जोड्ने दलदले–कुमसोत–पोखरी सडकअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्ग्रेमा पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन भएका छैनन् ।
जिल्लाको पहाडी क्षेत्र जोड्न दलदले–कुमसोत–पोखरी, गैँडाकोट–बुलिङ्टार–डेढगाउँ जोड्ने कालीगण्डकी करिडोर दुवै बन्द हुँदा पहाडी क्षेत्रको राजमार्गसँग यातायात सम्पर्क विच्छेद भएको छ ।
पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।
घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फि खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ । सो सडक अवरुद्ध भएकाले फुद्बांगबाट बलेबांग हुँदै पाली र पालीबाट घुम्ती गएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
छारेमा दैनिक यातायात सञ्चालन
कर्णाली करिडोर अन्तर्गत हुम्लाको छारे खण्डको सडकमा दैनिक यातायात सेवा सञ्चालनमा आउन थालेको छ । दैनिक यातायात सञ्चालन गर्न जिल्लास्तरीय समितिले निर्णय गरेको थियो । नेपाली सेना, कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले हुम्लाको छारे खण्डमा यातायात सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।
यसअघि सो सडक खण्डमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र यातायातका साधन सञ्चालन हुन दिने व्यवस्था मिलाइएको थियो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले यही असार अन्तिमसम्म सेनाले दुल्लीको कुनादेखि लाली बगरसम्मको सडक निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ ।
घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो ।
सडक अवरुद्ध, तराईमा डुबान
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।
विपी राजमार्गमा यातायात ठप्प
कमलामाई (सिन्धुली) : पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।
राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।
यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो
मकवानपुर : बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।
बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङ : पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताउनुभयो । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
घोराही–तुलसीपुर सडक सडक अबरुद्ध
तुलसीपुर (दाङ) : दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।
बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा
पर्सा : गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।
पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिनुभयो । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ ।
वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।
नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह
बेलबारी (मोरङ) : यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभयो ।
“साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ”, उहाँले भन्नुभयो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताउनुभयो । बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
कर्णाली राजमार्ग अवरुद्व
काँक्रेविहार (सुर्खेत) : शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिनुभयो ।


















