
विराटनगर(मोरड.) १७ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करीमा आरोपित एसएसपी श्याम खत्रीलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनलार्इ जिल्ला कारागार, मोरङमा राखिनेछ ।
उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । र, जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं। इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।
यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो । खत्रीको बयानले सुन तस्करीको जालो उदांगिने आशा गरिएको छ ।
सुन प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।
खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो
’
२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट सहज तवरले त्रिभुवन विमानस्थल हुँदै ल्याइएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।
सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ ।
यसअघि नै अदालतले पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायका अधिकांश प्रतिवादीलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । यस्तै गोरे पनि जेल चलान भएका छन् ।