Prakash Adhikari July 9, 2024

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २५ आषाढ(बीबीसी) । संयुक्त राज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूले आगामी निर्वाचनमा जो बाइडन राष्ट्रपतिको उम्मेदवार बन्नु हुने कि नहुने भन्ने विषयमा छलफल गर्दै छन्। बाइडनको ठाउँमा उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार बन्नुपर्ने आवाज पनि उठेको छ।

उमेरका कारण वयोवृद्ध बाइडनलाई मतदानमा प्रतिकूल प्रभाव पर्ने ठानिएको छ। कतिपयले ५९ वर्षीया ह्यारिसलाई उम्मेदवार बनाएर डेमोक्र्याटिक दलले नयाँ अभियानको थाल्नुपर्ने माग गरेका छन्।

कमला ह्यारिस अप्रूभल रेटिङ अर्थात् स्वीकार्यता मूल्याङ्कनमा निकै तल देखिनुभएको छ। अनि उपराष्ट्रपतिको हैसियतमा उहाँले देशको सर्वोच्च पदमा चुनिने गरी छाप छाड्न पर्याप्त काम गरेकोमा धेरै संशय देखिन्छ।

कमला ह्यारिसको राजनीति प्रवेश

सन् २०२० को राष्ट्रपतीय चुनावमा प्रथम महिला, प्रथम अश्वेत र प्रथम एशियाली अमेरिकी उपराष्ट्रपति बनेर कमला ह्यारिसले इतिहास बनाउनुभयो।

सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति बाइडन स्वास्थ्यको परीक्षण हुँदै गर्दा उहाँ ७५ मिनेट कार्यवाहक राष्ट्रपति पनि बन्नुभयो ।

ह्यारिसको जन्म ओक्लन्ड, क्यालिफोर्नियामा भएको थियो। उहाँकी आमा भारतीय र बुवा जमैकाका हुनुहुन्थ्यो।

उहाँ पाँच वर्षको हुँदा आमाबुवाको सम्बन्धविच्छेद गर्नुभयो र उहाँलाई मुख्य प्रायः आमा श्यामला गोपालन ह्यारिसले हुर्काउनुभयो । उहाँ क्यान्सर अनुसन्धानकर्ता र नागरिक अधिकार अभियानकर्मी हुनुहुन्थ्यो।

ह्यारिसले आफ्नी आमाले आफू र बहिनी मायालाई ओक्लन्डको अश्वेत समुदायसँगै हुर्काउनुभएको आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ।

“मेरी आमालाई आफूले दुई अश्वेत छोरी हुर्काउँदै गरेको राम्ररी थाहा थियो,” कमलाले आफ्नो जीवनी द ट्रूथ्स वी होल्डमा लेख्नुभएको छ।

“उहाँलाई आफूले स्वीकार गरेको नयाँ देशले माया र मलाई अश्वेत बालिका मान्छ भन्ने थाहा थियो। उहाँ हामी आत्मविश्वासपूर्ण र गौरवान्वित अश्वेत महिलाका रूपमा हुर्किएको सुनिश्चित गर्न कटिबद्ध हुनुहुन्थ्यो।” ह्यारिसले लेख्नुभएको छ ।

ह्यारिसले हावर्ड यूनिभर्सिटीमा अध्ययन गर्नुभयो। उक्त विश्वविद्यालय अमेरिकाको उत्कृष्ट अश्वेत शैक्षिक संस्थामध्ये पर्छ। त्यहाँ उहाँ दक्षिण अफ्रिकाको रङ्गभेदविरुद्धको सङ्घर्ष र अमेरिकामा जातीय सम्बन्धजस्ता राजनीतिक मुद्दाहरूमा संलग्न हुनुभयो।

ह्यारिसले अलमिडा काउन्टी डिस्ट्रिक्ट अटोर्नीको कार्यालय ओक्ल्यान्डबाट आफ्नो कार्यकाल थाल्नुभएको थियो ।

यूनिभर्सिटी अफ क्यार्लिफोर्निया, ह्यास्टिङ्सबाट कानुनको अध्ययन पूरा गरेर उहाँ वकिल बन्नुभएको थियो।उहाँले क्यालिफोर्नियाका विभिन्न जिल्ला सरकारी वकिलका कार्यालयहरूमा काम गर्नुभएको थियो। सन् २०१० मा उहाँ क्यालिफोर्नियाको महान्यायाधिवक्ता बन्नुभयो। सन् २०१६ मा उहाँ अमेरिकाको सिनेटर चुनिनुभयो ।

उहाँ सन् २०२० मा ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्ने अभियानमा संलग्न हुनुभयो। यद्यपि उहाँ प्रारम्भिक चरणबाट आन्तरिक प्रतिस्पर्धाबाट पछि हट्नुभयो।

आफू राष्ट्रपतिको उम्मेदवार मनोनीत भएपछि जो बाइडनले कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुभयो।

बाइडनले भन्नुभएको थियो, “कमला बुद्धिमान, कठोर, अनुभवी र प्रमाणित योद्धा हुनुहुन्छ।”

बाइडन र ह्यारिसले पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पराजित गर्नुभयो।

बाइडनको अभियानमा उहाँको विशेष सक्रिय भूमिका थिएन। तर ह्यारिस महिला र अश्वेत मूलकी भएकाले उहाँहरूको जितमा त्यसको महत्त्व रहेको ठानिन्छ। किनभने उहाँहरूको दाबेदारीको पक्षमा ९० प्रतिशत अश्वेत महिलाहरूले मत दिएका थिए।

उपराष्ट्रपति हुँदा कमला ह्यारिसको काम

उपराष्ट्रपतिको हैसियतमा कमला ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटकी पदेन अध्यक्ष हुनुहुन्छ। समान मत सङ्ख्याका कारण विधेयकहरूमा छिनोफानो हुन नसक्दा उहाँले निर्णायक मतदान गर्न पाउनुहुन्छ।

उहाँले ३२ पटक त्यसरी मत दिनुभयो। अमेरिकाको संसदीय इतिहासमा त्यो सर्वाधिक सङ्ख्या हो।

बाइडनले उपराष्ट्रपतिबारे भन्नुभएको छ, “कमलाको कुरा अन्तिम हुन्छ, उहाँ अनुमानहरूलाई चुनौती दिनुहुन्छ र सधैँ कडा प्रश्नहरू सोध्नुहुन्छ।”

गर्भपतनसँग सम्बन्धित सन् १९७३ को ुरो भर्सस वेडु आदेश अमेरिकाको सर्वोच्च अदालतले उल्ट्याइदिएपछि उहाँले महिलाको प्रजनन अधिकारको पक्षमा पैरवी गर्न अमेरिकाभरि यात्रा गर्नुभयो। त्यसबाट उहाँको विशेष छवि बन्यो।

तर उपराष्ट्रपतिको पदमा बहाल रहेको सम्पूर्ण अवधिमा उहाँको ‘अप्रूभल रेटिङ’ कम छ। झन्डै ५१ प्रतिशतले उहाँको कामगराइसँग चित्त बुझाएका छैनन् भने जम्मा ३७ प्रतिशत मात्रै उहाँको पक्षमा उभिएको फाइभथर्ट्रीएइट नामक संस्थाले तयार पारेको सर्वेक्षणले देखाएको छ।

बीबीसीका अमेरिकास्थित विशेष संवाददाता केटी केका अनुसार राष्ट्रपति बाइडनले दक्षिण सीमामा आप्रवासन नियन्त्रणको काम उहाँलाई जिम्मा लगाएकाले त्यसो भएको हुन सक्छ। उहाँ उक्त समस्या सम्बोधन गर्न लगभग विफल हुनुभएको छ।

जो बाइडनको साटो उम्मेदवार बन्ने विषयमा अरू नेता र कमला ह्यारिस के भन्छन्ः

हाउस अफ रेप्रिजेन्टटिभ्समा रहेका पाँच डेमोक्र्याट नेताहरूले खुलेरै ८१ वर्षे बाइडनलाई नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति पदको उम्मेदवार नबन्न आह्वान गरे। जुन महिनामा डोनल्ड ट्रम्पसँगको सार्वजनिक बहसमा बाइडन फितलो रूपमा प्रस्तुत भएपछि उनीहरूको त्यस्तो धारणा आएको हो।

ओहायोका प्रतिनिधि टिम रायनले बाइडनको साटो ह्यारिस उम्मेदवार बन्नुपर्ने बताउनुभएको छ ।

उहाँले न्यूजवीक म्यागजीनमा लेख्नुभएको छ, “कमला ह्यारिस नै अब हाम्रा लागि उपयुक्त पात्र हुन्। ह्यारिसको उम्मेदवारी जो बाइडनभन्दा ठूलो जोखिम हो भन्नेहरू।।। वास्तविकताबाट टाढा रहेछन् भन्ने हामीले देख्यौँ।”

क्यालिफोर्नियाका प्रतिनिधि एडम शिफले ह्यारिस ‘अद्भुत राष्ट्रपति’ बन्ने भन्दै उहाँले ट्रम्पलाई ‘अभूतपूर्व’ पाराले पराजित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

हालैका सर्वेक्षणहरूले ह्यारिसले बाइडनभन्दा ट्रम्पविरुद्ध राम्रो गर्न सक्ने देखाए पनि प्रतिस्पर्धा कडा रहने आकलन गरिएको छ।

सीएनएनले जुलाई २ मा सार्वजनिक गरेको सर्वेक्षणमा ४३ प्रतिशत मतदाताले बाइडन र ४९ प्रतिशतले ट्रम्पलाई राष्ट्रपतिमा समर्थन गरेको देखाएको थियो। तर यदि ह्यारिस राष्ट्रपति उम्मेदवार बनेको खण्डमा ४५ प्रतिशतको समर्थन उनलाई हुने र ट्रम्पले ४७ प्रतिशतको समर्थन पाउने सो सर्वेक्षणमा जनाइएको थियो।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमसहित अन्य तीन जनाको नाम पनि बाइडनको सट्टा उम्मेदवार बन्न सक्ने नेताको सूचीमा आएको छ।

तर ह्यारिसले आफूले राष्ट्रपतिमा बाइडनलाई समर्थन गरिरहने जनाउनुभएको छ। उहाँले भन्नुभयो, “हेर्नुहोस्, जो बाइडन हामीले मनोनयन गरेका उम्मेदवार हुनुहुन्छ। म यत्ति मात्रै भन्न चाहन्छु, हामीले एक पटक ट्रम्पलाई पराजित गरिसक्यौँ र उहाँलाई हामी फेरि हराउँछौँ।”

Share Now