
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक पक्षबारे नागरिक उड्डयन विज्ञहरूको समूहले सरकारलाई सचेत गराएको छ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला आकारका जेट सञ्चालन गर्ने कार्य चुनौतीपूर्ण हुने एक वरिष्ठ नागरिक उड्डयनविद्ले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
पोखरामा नयाँ विमानस्थल बन्न अत्यावश्यक छ। हाल भइरहेको काम अघि बढ्नुपर्छ। तर पोखरामा ठूला विमान चलाउन कठिन हुन्छ भन्ने कुरालाई ध्यान दिइएको छैन।
वरिष्ठ क्याप्टेन पिजे शाह
उनका अनुसार हाल निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक हिसाबले ठूला आकारका जेट विमान सञ्चालन अनुपयुक्त हुने र त्यसले उड्डयन सुरक्षामाथि चुनौती थपिदिन सक्छ।
वरिष्ठ क्याप्टेन पीजे शाह संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित विज्ञ समूहका एक सदस्य हुन्।
त्रुटि
उनले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक त्रुटिबारे सरकारलाई जानकारी दिइएको बताएका छन्।
उनीसँग नेपाल एअरलाइन्स र इमिरेट्स एअरलाइन्समा गरी ४२ वर्ष विभिन्न खाले विमान उडाएको अनुभव छ।
उनले भने, “पोखरामा नयाँ विमानस्थल बन्न अत्यावश्यक छ। हाल भइरहेको काम अघि बढ्नुपर्छ। तर पोखरामा ठूला विमान चलाउन कठिन हुन्छ भन्ने कुरालाई ध्यान दिइएको छैन। एक सय सीट क्षमतासम्मका विमान पोखरामा लैजान उपयुक्त हुन्छ।”