Prakash Adhikari July 27, 2024

पेरिस(फ्रान्स), १२ साउन । ३३ औं गृष्मकालिन ओलम्पिक खेलकुदको गएराति फ्रान्सको राजधानी पेरिसमा भव्य समारोहका बीचमा उद्घाटन भएको छ ।

नेपाल समय अनुसार राति ११ः१५ बजे सुरु भएको ओलम्पिकको उद्घाटन समारोह बिहानसम्म चलेको थियो।

विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता जनाउदै छन् ।

पेरिसको अभूतपूर्व उद्घाटन समारोह ३ लाख भन्दा दर्शकले प्रत्यक्ष हेरेका थिए।

ओलम्पिक सहभागी खेलाडीको मार्च पास सेन नदीमाथि सलल बग्ने डुगामा गरिएको थियो । सेन नदीको किनारामा समेत दर्शक बस्ने प्यारापिड बनाइएको थियो । ओलम्पिकलाई नै लक्षित गरेर सेन नदीलाई सफा गरिएको थियो ।

१६ दिन सम्म चल्ने ओलम्पिकमा कुल ३२ खेलको ३ सय २९ विधामा प्रतिस्पर्धा हुनेछ । पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि रहनेछ । ओलम्पिकमा ९ अर्ब युरो खर्च हुने अनुमान छ ।

मार्च पासमा नेपाली खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झण्डा बोकेका थिए ।

१६ दिन सम्म चल्ने ओलम्पिकमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्‌ ।

प्रिन्स विना प्रशिक्षक ओलम्पिक खेल्दै छन् । ३३ औं गृष्मकालीन ओलम्पिक्समा नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुभएको छ । नेपाली टोलीमा ७ खेलाडीसहित २७ जना रहेको बताइएको छ ।

स्यान्टु र प्रिन्सको खेल आज

छनोट चरण पार गरेर ओलम्पिक पुगेका नेपाली टेबल टेनिस स्टार स्यान्टुले सेनेगलका इब्राहिमा डियासँग आज शनिबार खेल्ने खेल तालिका छ । त्यस्तै समूह पीमा रहेका प्रिन्सले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् ।

स्यान्टु दक्षिण एसियाको छनोट पार गर्दै ओलम्पिक पुगेका हुन् । सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुन्।

यसअघि सन् २००४ को एथेन्स ओलम्पिकका लागि संगिना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा दीपक विष्टले छनोट चरण पार गरेर सहभागिता जनाएका थिए । वैद्य र विष्ट दुवै तेक्वान्दोबाट छनोट भएका थिए ।

स्यान्टु टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो र समग्रमा तेस्रो नेपाली खेलाडी हुन् ।

Share Now