दाम्बुला(श्रीलंका), १२ साउन (एजेन्सी) । एसीसी महिला टी २० एशिया कप २०२४ को फाइनल खेल आयोजक श्रीलंका र भारतका टिम बीच हुने भएको छ ।
शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेसंगै श्रीलंका फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गरेको थियो । श्रीलंकाकी कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाइन् । अनुष्का सन्जिवनीले २२ बलमा २४ रन जोडिन् । पाकिस्तानका लागि सादीया इकवालले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मुनिबा अलिले ३४ बलमा सर्वाधिक ३७ रन बनाउँदा अर्का ओपनर गुल फिरोजाले २४ बलमा २५ रन बनाएकी थिइन ।
कप्तान निदा दार र फतिमा सानाले समान २३ रन बनाउँदा अलिया रियाजले १५ बलमा अविजित १६ रन बनाइन् । श्रीलंकाका कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान २ विकेट लिए ।
श्रीलंकाले आइतबार भारतसँग एसिया कपको उपाधिका लागि खेल्दै छ । साविक विजेता भारतले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १० विकेटको जितका साथ फाइनलमा स्थान पक्का गरेको थियो ।
एसीसी महिला कपका ८संस्करण मध्य भारत ७ संस्करणको च्याम्पियन बनिसकेको छ । सन् २०१८ मा भने एसीसी कपको उपाधि बंगलादेशले जितेको थियो।


















