काठमाडौं, १६ श्रावण । गएराति परेको बर्षाको कारण आएको पहिरोमा परेर देशको राजमार्ग र सहायक राजमार्गहरु अबरुद्ध भएका छन् ।
राष्ट्रिय समाचार समितिको समाचारमा जनाइए अनुसार पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
–––
बेँसीसहर–चामे सडक अवरुद्ध
साँफे– मार्तडी सडक अवरुद्ध
लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ ।
एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ । उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका –७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो ।
करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।
–––