Prakash Adhikari August 22, 2024

काठमाडौं, ६ भाद्र। साफ यु -२० च्याम्पियनसिप फुटबल अन्तर्गत आज घरेलु टोली नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने तालिका छ ।

प्रतिस्पर्धी श्रीलंकालाई पराजित गरेको दुवै टोली समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । यी दुई टोली बीचको खेलले समूह ‘ए’ को विजेता टुङ्गो लाग्नेछ ।

समुद्घाटन खेलमा नेपालले श्रीलंकालाई १ -० ले पराजित गरेको थियो । त्यसपछि अर्को खेलमा बंगलादेशले श्रीलंकालाई २- ० ले हराएपछि नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । दुई खेल हारेको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ ।

बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ‘ए’को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ ।

समूह ‘बी’मा रहेको भारतसँगको सम्भावित सेमिफाइनल भेट टार्नका लागि नेपाल समूह एको विजेता बन्ने लक्ष्यमा छ ।

समूह ‘बी’मा शुक्रबार हुने भारत र माल्दिभ्सबीचको समूहको अन्तिम खेलपछि सेमिफाइनल समीकरण तय हुनेछ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइएको छ र दुवै समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् ।

Share Now