
सातदोबाटो(ललितपुर), ६ भाद्र । नेपालमा भैरहेको साफ यू २० च्याम्पियनसिपमा समूह विजेता बन्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार अपरान्ह भएको खेलमा नेपाली युवा टोलीले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
समूह ए को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।
पहिलो हाफको १५ औँ मिनेटमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको थियो। निराजन धामीको गोलमा नेपालले अग्रता बनाएको थियो। लगत्तै १६ औँ मिनेटमा समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।
पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले १ गोल फर्कायो। इस्लामको गोलमा बंगलादेशले खेलमा २–१ को अवस्थामा ल्यायो।
यो समूह चरणको अन्तिम खेल पहिले नै नेपाल र बंगलादेश दुवै सेमिफाइनलमा योग्य भैसकेका थिए । समूहमा रहेको श्रीलंका लगातार दुई हार ब्यहोरेर प्रतियोगिताबाट बाहिरिन पुगेपछि एक एक खेल जितेको दुवैको सेमिफाइनलमा स्थान पक्का भएको थियो ।
आजको खेलले समूहको विजेता र उपविजेताको निर्धारण गरेको छ । सेमिफाइनलमा समूह ए का विजेताले समूह बी का उपविजेता र समूह एक उपविजेताले समूह बी का विजेतासंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले यो खेलको खास महत्व रहेको थियो ।
नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेता टोलीसँग खेल्नेछ। बंगलादेशले भने समूह बी को विजेतासँग खेल्नेछ।
समूह बी मा रहेका भारत, भुटान र मालदिभ्स तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ। समूह बी को अन्तिम खेलमा भोलि शुक्रबार भारत र मालदिभ्स खेल्नेछन्। यो खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ।
समूह बी मा भारत र भुटानले समान एक खेल जितेका छन्। भारत र मालदिभ्सले एक खेल खेल्न बाँकी छ।
भोलिको खेलमा भारतले मालदिभ्सलाई पराजित गरे भुटान सेमिफाइनलमा पुग्नेछ।