Prakash Adhikari February 8, 2025

 

काठमाडौं, २६ माघ । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)को चौथो संस्करण पूरा भएको छ ।

नबिल बैंकले सन् २०२१ बाट सामाजिक उद्यमशिलता प्रवर्द्धनको लागि सुरु गरेको फेलोसिप कार्यक्रममा छानिएका ६६ जना उद्यमी बन्न तयार भएका छन् भने ४५ जनाले आफ्नो व्यवसाय सुरु गरिसकेका छन् ।

बैंकले सामाजिक उद्यमशीलतामा रुची राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्रियाकलापमा संलग्न हुने अभिरुचि भएका युवाहरुलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि यस कार्यक्रमको सुरूवात गरेको थियो ।

यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमशीलता सम्बन्धित तालीम प्रदान गरिसकेको छ भने बिहीबार चौथो संस्करणको तालिम सम्पन्न भएको हो ।

बैंकले नबिल एसएमई फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन गर्दै आएको छ । उद्यमशीलताको सोच भएका, के गर्ने भनेर सोच बनाइसकेका जुझारु व्यक्तिहरुलाई व्यावसायिक रुपमा सम्भाव्य बनाउन आवश्यक तालीम तथा प्रशिक्षण दिन बैंकले उक्त कार्यक्रम चलाएको हो ।

फेलोसिपमा सहभागीहरूबाट आउने नतिजाले देशमा रोजगारी सिर्जना, आर्थिक विकास तथा दिगो विकासका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा लिएको बैंकले बताएको छ ।

कार्यक्रमको चौथो संकरण सम्पन गरेको अवसरमा बैंकले फेलोसिप कार्यक्रमको प्रभावाकारिता सम्बन्धमा एक विशेष कार्यक्रमसमेत आयोजना गरेको थियो । ४ वर्षको अवधिमा बैंकको फेलोसिप कार्यक्रम अन्तरर्गत ६६ जनाले ६ महिनाको सामाजिक उद्यमसिलताको कोर्ष पुरा गरी उद्यमी बन्न तयार भएको बैंकले बताएको छ । नबिल बैंकको फेलोसिप कोर्स लिएको ४५ जना युवाले आफ्नो व्यवसाय सुरु गरेको र १ हजार २ सय भन्दाबढीले रोजगारी समेत प्राप्त गरेको बैंकले जनाएको छ ।

बैंकले आयोजना गरेको एक विशेष कार्यक्रममा नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो । यो कार्यक्रमले समाज र सामाजिक मूल्यमा फरक परेको उहाँले दावी गर्नुभयो । चौधरीले नबिल बैंकले सञ्चालन गरिरहेको यस्ता कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाली उत्पादनलाई नबिल बैंकले प्रोत्साहन गरिरहेको र उक्त कार्य अर्थतन्त्रलाई अगाडि बढाउन माइलस्टोन साबित हुने दाबी समेत गर्नुभयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नवउद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तयार रहेको बताउनुभयो । एक वर्षसम्म अध्ययन अनुसन्धान गरेर सञ्चालनमा ल्याइएको यस कार्यक्रम निकै प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

‘सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खर्च हुने रकमलाई एउटै उद्यमशीलतामूलक क्षेत्रमा लगाउने सोचले यस कार्यक्रमको विकास गरिएको हो,’ उहाँले भन्नुभयो, ‘कार्यक्रममा सुरुवाती चरणमा कम सहभागी भएपनि अहिले भने बढ्दै गएको छ । यस कार्यक्रमले युवाहरू विदेशिने क्रमलाई केही प्रतिशत रोक्न सक्ने हाम्रो विश्वास छ ।’

कार्यक्रम अन्तर्गत विदेशबाट फर्किएकाहरूलाई पनि अवसर सिर्जना भइरहेको उहाँले बताउनुभयो । विदेशबाट फर्केकाहरूलाई पनि सुलभ कर्जाबाट नेपालमै उद्यमी बन्नका लागि बैंकले प्रेरित गरिरहेका उहाँले बताउनुभयो ।

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सन् २०२१ मा सुरु गरिएको यस कार्यक्रमले नेपालमा उद्यम सिर्जना गर्न र रोजगारीका अवसर अभिवृद्धि गर्न सघाएको उहाँले बताउनुभयो ।

उहाँले फेलोसिप कार्यक्रममा ६ महिनामै उत्पादन, व्यवस्थापन, सीप देखि बजारीकरणसम्म व्यवसाय सञ्चालनको लागि चाहिने सम्पूर्ण ञान प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले सिद्धान्त र व्यवहारिक ज्ञान हासिल गरे मात्रै नयाँ काम सम्भव हुने बताउनुभयो । उहाँले अहिले समाज र विद्यार्थीको मनस्थिति बदल्नुपर्ने समय रहेको र नबिल बैंकको यस कार्यक्रमले त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम स्थलको प्रदर्शनी कक्षमा नबिल बैंकको फेलोसिप कार्यक्रममा संलग्न भएकाले आफूले उत्पादन गरेको वस्तुहरु पनि प्रदर्शनीमा राखेका थिए ।

 

Share Now