दुबाई(युनाइटेड अरब इमिरेट्स), ९ कार्तिक । आईसीसी पुरुष टी २० विश्वकप छनोट चरणको खेलहरुमा क्लिन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आजदेखि आईसीसी लिग २ को छनोट चरणमा उत्रिदै छ ।
नेपाल, अमेरिका र युएईका बीच हुने त्रिकोणीय शृंखलाको पहिलो खेल नेपालले अमेरिकासंग आज खेल्दै छ । खेल ११ः०० बजे सुरु हुने कार्यतालिका छ ।
नोपलले दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग, तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासंग र चौथो खेल ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।
नेपालले टी २० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै लिग टुमा उतारेको छ । कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रने टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा, शाहब आलम रहेका छन् ।
टी २० विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिएका छन् । उनीहरु हंगकंगमा हुने हंगकंग सिक्सेजमा समेटिएका छन् । उनीहरुको स्थामा अनिल साह, भीम सार्की र शाहब आलमलाई टोलीमा भित्र्याएको छ ।
लिग २ का बाँकी खेलहरु जित्नै पर्ने दवावमा नेपाल
नेपाली टोलीले यसअघि गत असारमा स्कटल्यान्डमा गएर लिग २ को शृंखला खेलेको थियो, त्यो पनि एसोसियटका दुई बलिया टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध ।
क्त शृंखला खेल्नुअघि नेपाल १२ खेलमा ६ अंक मात्र जोडेर ८ टोलीमध्ये सबैभन्दा पुछारमा थियो । उक्त शृंखलामा ३ खेल जित्दै नेपाल १६ खेलबाट १२ अंक जोड्दै एक स्थान माथि उक्लिएको थियो ।
त्यस शृंखलामा नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग २ मा पुनरागमनको सुरुवात भएको संकेत दिएको थियो । नेपालले नेदरल्याण्ड्सलाई दुवैपटक हराउँदा स्कटल्याण्डसँग एक खेलमा कीर्तिमानी जित निकालेको थियो । नेपालले अर्को खेलमा २ रनको हार बेहोरेको थियो ।
नेपालले यस श्रृंखलाका सबै खेल जितेमा २० अंकमा पुग्नेछ जुन् अवस्थामा नेपाल १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्छ ।
नेपाल -अमेरिका-यूएई ‘हेड टु हेड’
लिग २ को तालिकामा हाल अमेरिका २० खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै १६ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १६ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।
अमेरिकाले हालसम्म १४ जित र ६ हारको नतिजा निकालेको छ । नेपाल र यूएईसँग यसअघि पनि खेलिसकेको अमेरिकाले यस लिग २ साइकलमा दुवै टोलीसँग हार बेहोरेको छैन ।
यस्तै यूएईले भने ३ जित निकाल्दा १३ हार बेहोरेको छ ।
नेपालले ओडिआईमा अमेरिकासँग हालसम्म ८ पटक खेलेको छ । जहाँ नेपालले ४ खेलमा जित निकाल्दा अमेरिकाले ३ खेल जितेको छ । एक खेल टाइ भएको थियो ।
त्यस्तै यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।


















