सेन्ट हेलियर(जर्सी, च्यानल आईल्याण्ड)। नेपालले सानो टापु जर्सी विरुद्धको एकदिवसीय सिरिज जितेको छ । दुई खेल भएको श्रृखलाको दोस्रो खेलमा नेपालले जर्सीलाई ७ रनले पराजित गरेर सिरिज जितेको हो । यस अगाडि पहिलो खेल पनि नेपालले ८१ रनले जितेको थियो ।
नेपालले दोस्रो एक दिवसीय खेलमा अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डिएल मेथडमा ७ रनले हराएको हो।
खेलमा जितको लागि २ सय ८३ रनको लक्ष्य पछाएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाउँदै २ सय ५१ रन बनाउँदाको अवस्थामा भारी वर्षा भयो । त्यसपछि खेल हुन सकेन र डिएलए मेथडमा नेपाल विजयी भयो ।
नेपालको जितमा इशान पाण्डेको प्रदर्शन उत्कृष्ट रह्यो। इशान र ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए। इशानले १ सय १५ बल खेल्दै १४ चौका सहित सर्वाधिक ९० रन जोडे।
पहिलो खेलमा शतक बनाएका कुशलले ४२ बल खेल्दै ७ चौका सहित ५१ रन जोडे। त्यस्तै भीम सार्कीले ३७ , दीपेन्द्रसिंह ऐरी अविजित ३३ रन बनाए भने कप्तान रोहित पौडेल अविजित २१ रनमा क्रिजमा रहे।
नेपाललाई रोक्ने क्रममा बलिङमा जर्सीका चाल्स पेर्चाडले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको जर्सीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो। उसको लागि प्याट्रिक गाउजले ९५ रनको सानदार प्रदर्शन गर्दा हारिसन कार्लियनले ५६ र जाक ट्राइभले ५० रन बनाए ।
जर्सीलाई रोक्ने क्रममा नेपालका लागि बलिङमा करण केसी र सन्दीप लामिछानेले समान २ ।२ विकेट लिए।
नेपाली टोली अब आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्ड्स जानेछ। यो श्रृखला नेपाल, घरेलु टोली नेदरल्याण्ड्स र नामिबियाबीच हुनेछ।
लिग टु मा २८ खेलपछि ३२ अंकसहित नेदरल्याण्ड्स तेस्रो, २४ अंकसहित नेपाल पाँचौं र २२ अंक जोडेको नामिबियाले सातौं स्थानमा छन्। सिरिजको पहिलो खेल साउन ५ गते (जुलाई २१) नेपाल र नामिबियाबीच हुनेछ।








