Prakash Adhikari October 11, 2018

भ्राताड.(मनाङ), २५ असोज(रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहिबार उद्घाटन गर्नुभएको छ ।

कृषि फार्मको उद्घाटन मन्तव्यमा प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताउनुभयो । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गर्नुभयो ।उहाँले सरकारले यो वर्ष स्याउ कृषकका लागि १० करोड रुपैयाँ अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताउनुभयो।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिनुभयो।

मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गरेको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उहाँले बताउनुभएको छ । ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचा मा रु ३० करोडको लगानी रहेको छ । प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् ।

उहाँका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ ।

Share Now

Leave a comment.