काठमाडौं, २८ असोज । नेपाल क्रिकेट संघ (क्यान)को विवाद समाधानको मार्गमा गएको छ । नेपाल क्रिकेट संघले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई फिर्ता लिने प्रक्रिया अघि बढाउने जनाएपछि विवाद समाधानको बाटोमा पुगेको हो ।
संघका उपाध्यक्ष दिवाकर घलेले जारी गरेको विज्ञप्तिमा मुद्धा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न कार्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको र क्यानको यो प्रयासले नेपाली क्रिकेट निलम्बन फुकुवाको प्रक्रिया अझ सहज हुने बिश्वास ब्यक्त गरिएको छ।
संघले नेपाली क्रिकेटलाई निलम्बनबाट मुक्त बनाउने प्रक्रिया अब अन्तिम चरणमा पुगिसकेको र यो अवस्थामा सरोकारवाला सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ।
नेपाल क्रिकेट संघको ४ बर्ष अघि सम्पन्न साधारणसभाबाट चतुरबहादुर चन्द अध्यक्ष निर्वाचित हुनुभएको थियो तर सो निर्वाचन र निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको थिएन। त्यसपछि परिषद्ले रमेश सिलवाललाई अध्यक्ष बनाएर क्यानको अर्को तदर्थसमिति बनाएको थियो। त्यसको बिरुद्ध निर्वाचित क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा हालेको थियो जुन अझै विचाराधीन रहेको छ।
राष्टिय र अन्तराष्टिय स्तरमा सबैभन्दा बढी प्रगति गरिरहेको नेपालको क्रिकेटमा देखिएको यो राजनीतिक दाउपेचले खेलको विकासमा निकै अवरोध सिर्जना भएको तथ्यलाई दृष्टिगत गरी आईसीसीले राखेप र क्रिकेट संघ दुवैलाई विचाराधीन मुद्दा फिर्ता लिन पत्र पठाएको थियो। आईसीसीले नेपाल क्रिकेट संघलाई दिएको मान्यता निलम्बन गरी अहिले नेपालको क्रिकेटलाई प्रत्यक्ष आफै हेर्दै आएको छ ।
संघले नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा सधै जिम्मेवार र सहयोगी रहेको उल्लेख गर्दै आईसीसीले गठन गरेको सल्लाहकार समूह र मोनिटरीङ कमिटीमा सहभागी भएर मात्रै हैन, आईसीसी र अन्य सरोकारवालाहरूले भने झै परिमार्जित बिधानलाई बिशेष साधारण सभाबाट हुबहु पारित गरेर नेपाली क्रिकेटलाई सही मार्गमा लैजान प्रयास गरिरहेको दावी गरेको छ ।
संघले संशोधित विधानअनुसार जिल्ला निर्वाचन समेत सम्पन्न भईसकेको र परिमार्जित विधानअनुसार गठन भएको पाँच सदस्यीय मोनिटरिङ कमिटीले जिल्ला निर्बाचनको अध्ययन गरिरहेको जनाउदै सो समितिले प्रतिबेदन बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्बाचनसँगै आईसीसीले क्यानमाथिको निलम्वन फुकुवा गर्ने विश्वास व्यक्त गरेको छ ।
संघले भनेको छ, ‘हामीले यस अघि सम्मानित सर्बोञ्च अदालतमा दायर गरेकोको मुद्धाको सम्बन्धमा पनि केही चासो ब्यक्त भएका छन्। आईसीसीबाट समेत यस सम्बन्धमा चासो ब्यक्त भएको हुँदा हामीले यस अघि आईसीसी र अन्य सरोकारवाला ब्यक्ति र निकायसँगको छलफलमा गरेको प्रतिबद्धताअनुसार सम्मानित सर्बोञ्च अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्धालाई फिर्ता लिने प्रकृया अघि बढाएका छौ।’
यस सम्बन्धमा कानुनी र ब्यवहारीक प्रकृया बारे छलफल गरी मुद्धा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न हामीले यही कात्तिकको १० गते क्यान निर्बाचित समितीको बोर्ड बैठक बोलाएका छौं। विश्वास छ, हाम्रो यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रकृया अझ सहज हुनेछ।


















