Prakash Adhikari October 15, 2018

 

काठमाडौं, २९ असोज । केही दिनअघि धौलागिरि क्षेत्रको गुर्जा हिमाल फेदीमा हिमआँधीमा परेर पाँच दक्षिण कोरियाली पर्वतारोही सहित ९ जनाको ज्यान गएको खबर निकै ढिलोगरि प्राप्त हुनुमा हिमाली क्षेत्रको कमजोर सञ्चार र सुचना संयन्त्र सञ्जाल पनि जिम्मेवार रहेको अधिकारी तथा व्यवसायीहरूले बताएका छन्।

तर मौसम पूर्वानुमान गर्न सहज हुने भरपर्दो पूर्वसुचना प्रणाली सँगै मोबाइल टेलिफोनको सञ्जाल विस्तार गर्न सके यस्ता विपदबाट मानवीय क्षति कम गर्न सकिने उनीहरूको तर्क छ।

सरकारी अधिकारीहरू भने जनशक्ति, आर्थिक स्रोत र सञ्चार पूर्वाधारको कमीका कारण यस्ता प्रणाली विकास गर्न नसकिएको बताउँछन्।

धौलागिरि हिमश्रृंखलाको दक्षिण पश्चिममा पर्ने झण्डै ७ हजार २ सय मिटर अग्लो गुर्जा हिमालको आधार शिविर गत साता भएको उक्त दुर्घटनाबारे समयमै जानकारी आउन नसकेको अधिकारीहरूले बताएका छन्।

ढिलो
म्याग्दीको सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्यालले भन्नभयो, न सूचना प्रणाली छ न टेलिकमको टावरले काम गर्छ। भौगोलिक बिकटता पनि २१ गते गएको टोली ६ दिनसम्म किन आएन भनेर खोज्न जाँदा लास भेटियो भन्ने अपुष्ट सुचना आएको थियो।ू

सम्भवत हिमआँधीमा परेर उक्त आरोहणदलका सदस्यहरूको मृत्यु भएको भनिएको छ। तर, अझै पनि यकिन कारण अधिकारीहरूले बताउँन सकिरहेका छैनन्।

मृतकमध्ये एकजना म्यग्दीकै स्थानीयबासी रहेकाले उनी बाहेक अरूको शव आइतबार काठमाण्डौं पठाइएको अर्यालले बताउनुभयो।

व्यवसायी एवं विज्ञहरू भने यस्ता दुर्घटना कम गर्नका लागि हिमाली क्षेत्रमा मौसमको जानकारी दिने पूर्वसुचना प्रणाली र भरपर्दो सञ्चार पूर्वाधार राखिनुपर्ने बताउँछन्।

भर

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले हिमाली क्षेत्रमा आउने आँधी, हिमपहिरो र हिमपातको बारेमा जानकारी दिने मौसमी प्रणाली जडान गरिएमा यस्तो दुर्घटना कम हुने बताउनुहुन्छ ।

यस्तो सूचनाको अभावमा केही बर्ष पहिले अन्नपूर्ण क्षेत्रमा र सगरमाथा क्षेत्रमा पनि थुप्रै स्वदेशी तथा विदेशी आरोहीहरुले जीवन गुमाउनु परेको थियो । ‘महंगो हुने भनेर सरकारले यस्ता संयन्त्र जडानमा चासो देखाएको छैन तर पदयात्रा र पर्वतारोहणलाई सुरक्षित बनाउने हो भने कम्तीमा बेस क्याम्प र महत्वपूर्ण पदयात्रा मार्गमा यस्तो सूचना प्रणाली स्थापना गर्न आवश्यक देखिएको छ’,  अध्यक्ष लामाले बताउनुभयो ।

त्यस्तो प्रणाली विकास गरिए गुर्जा हिमालमा भएको जस्तो दुर्घटना टर्न सक्ने नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्ष्य माया शेर्पा बताउँनुहुन्छ।

‘हिमालमा पूर्वसुचना प्रणाली छैन। त्यसले गर्दा नै भैपरी आउने दुर्घटनाहरू बारे थाहा हुदैन। हिमपहिरो र मौसमबारे जानकारी हुदैन। त्यस्तो भइदिएचाहिँ धेरै सुरक्षित हुन्थ्यो र यसरी दुर्घटनाहरू हुँदैन थिए’, शेर्पाले भन्नुभयो ।

उहाँले हिमाली क्षेत्रमा अन्य मोबाइल टेलिफोन सेवा नपुगेकाले अहिलेसम्म स्याटलाईट फोनको भर पर्नु परेको बताइउनुभयो ।

कतिपय अवस्थामा स्याटलाइट फोनको ब्याट्री चार्ज गर्न समेत समस्या हुने गरेकाले सूचना आदानप्रदान कठीन बनेको बताइन्छ।

अभाव
नदीहरूमा पूर्व सुचना प्रणालीहरू राखेर रियल टाइम अर्थात् जत्ति खेरको त्यत्ति खेरै बाढीको जानकारी दिने प्रणालीलाई चलाइरहेको भए पनि हिमाली क्षेत्रमा त्यस्तो सेवा दिन नसकेको सरकारी अधिकारीहरू बताउँछन्।

जल तथा मोसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मा भन्नुहुन्छ, ‘हिमाली क्षेत्रमा संयन्त्र राख्नु भनेको महँगो चिज हो। सूचना रियल टाइममा प्राप्त हुनका लागि सञ्चार प्रणाली प्रभावकारी हुनुपर्‍यो। नेपालको आफ्ने भूउपग्रह नभएकाले त्यो प्रणाली महँगो पर्छ।’

उहाँले मोबाइल सेवा समेत उपलब्ध नहुँदा समस्या भएको बताउनुभयो।

नेपाल टेलिकम र एनसेलजस्ता दूरसञ्चार कम्पनीहरू भने देशका सबैजसो जिल्ला र गाँउपालिका तहसम्म सेवा विस्तार गरिसकेको दाबी गरेका छन्।

जोखिम
विज्ञहरू भने हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली राख्न सके पर्वतारोहण सम्बन्धी दुर्घटना मात्र कम हुने होइन, तल्लो तटीय क्षेत्रमा पर्न सक्ने विपद् बारे समेत समयमै सचेत हुन सकिने बताउँछन्।

करिब सात वर्षअघि गरिएको एक अध्ययनले नेपालका ठूलामध्ये ६ वटा हिमतालहरू उच्च जोखिममा रहेको र कुनै पनि बेला फुट्न सक्ने देखाएको थियो।

तर, त्यसमध्ये हालसम्म दुईवटामा बाहेक अरूमा पूर्वसुचना प्रणाली जडान नगरिएको अवस्थामा अन्य हिमाली क्षेत्रमा यस्तो प्रणाली विकास गरिनेमा भने धेरैले शंका व्यक्त गर्ने गर्छन्।
(बीबीसीको सहयोगमा)

Share Now

Leave a comment.