Prakash Adhikari October 15, 2018

वाशिड.टन डी.सी.(संयुक्त राज्य अमेरिका),३० असोज (बीबीसी) । साउदी पत्रकार जमाल खशोगी बेपत्ता भएका घटनाका सम्बन्धमा साउदी राजा सलमानसंग जरुरी वार्ता गर्नका लागि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओलाई साउदी अरेबियातर्फ पठाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजा सलमानसंग टेलिफोन वार्ता गरेपछि तुरुन्तै साउदी अरेबियातर्फ जान विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका थिए।

राष्ट्रपति ट्रम्पले आफूलाई राजा सलमानले ति पत्रकारका सम्बन्धमा के भएको हो भन्नेबारे आफूसंग कुनै जानकारी नभएको बताएका जनाएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार ति पत्रकार बेपत्ता हुनुको पछाडि “छाडा हत्याराहरू” जिम्मेवार रहेको हुनसक्छन्।

जोड
टर्कीका अधिकारीहरूको विश्वासमा झण्डै दुईहप्ताअघि इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा जमाल खशोगीको हत्या गरिएको थियो।

साउदी अधिकारीहरूले भने जमाल खशोगी नियमित काम सकेर वाणिज्य दूतावासबाट सुरक्षित बाहिरिएकामा जोड दिएका छन्।

यो प्रकरणले साउदी अरेबिया र उसका निकटम पश्चिमा साझेदारहरूबीचको सम्बन्धमा नकारात्मक प्रभाव पारेको छ।

शनिवार मात्रै राष्ट्रपति ट्रम्पले यदि पत्रकार खशोगी साउदी वाणिज्य दूतावासभित्रै मारिएका भन्ने पुष्टि भएमा साउदी अरेबियालाई “गम्भीर सजाय” दिइने चेतावनी दिएका थिए।

कुटनीतिक दबाब
तर उनले रियाधसंगको ठूला सैन्य सम्झौता रद्द गर्न सक्ने सम्भावनालाई भने नकारेका थिए।

यो घटनाका सम्बन्धमा पूर्ण विवरण प्रस्तुत गर्न साउदीहरूमाथि चर्को कुटनीतिक दबाब बढिरहेको छ।

सोमवार नै साउदी राजा सलमानले यसबारेमा अनुसन्धान गर्न आदेश दिएका छन्।

Share Now

Leave a comment.