Prakash Adhikari October 15, 2018

 

कोलम्बो(श्रीलंका),३० असोज(बीबीसी) । श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सनथ जयसूर्यालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले भ्रष्टाचार नियन्त्रणसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको अभियोग लगाएको छ।

उनलाई अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय आईसीसीले गरेको भ्रष्टाचारसम्बन्धी एउटा अनुसन्धानमा नसघाएको आरोप लागेको छ।

उनन्चास वर्षीय जयसूर्यालाई “प्रमाण लुकाएर, बिगारेर वा नष्ट गरेर” अनुसन्धानमा अवरोध गरेको आरोप पनि छ।

उनी श्रीलङ्काको राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गर्ने समितिका भूतपूर्व अध्यक्ष पनि हुन्।

आफूविरुद्ध लागेका अभियोगको उनले १४ दिनभित्र उत्तर दिनुपर्नेछ।

जयसूर्यालाई एकदिवसीय क्रिकेटमा उत्कृष्ट खेलाडी मानिन्छ। उनी ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्ने गर्थे।

सन् १९९६ मा श्रीलङ्काले विश्वकप जित्दा उनी पनि राष्ट्रिय टोलीमा थिए।

उनी कुल ४४५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका छन्। तिनमा उनले २१ शतक र ३२३ विकेट लिएका छन्।

स्मिथ एक खेलका लागि निलम्बित

एक सय १० टेस्ट खेलमा सहभागी भएका उनको प्रतिखेल औसत रन ४०.०७ रहेको छ।

सन् २०११ मा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका उनले ट्वेन्टी-ट्वेन्टी खेल भने थप एक वर्ष खेले।

पछि उनी मन्त्री पनि बने।

केसँग सम्बन्धित?

आईसीसीको भ्रष्टाचारनियन्त्रण एकाइका महाप्रबन्धकले गत महिना श्रीलङ्कामा भएका भनिएका गम्भीर भ्रष्टाचारबारे अनुसन्धान गर्ने घोषणा गरेका थिए।

बीबीसी सिंहला सेवाका अनुसार अनुसन्धान भएको बेला जयसूर्या खेलाडी चयनकर्ताहरूका प्रमुख थिए।

उनले “व्यक्तिगत कारण” देखाएर आफ्नो मोबाइल फोन आईसीसीका अधिकारीलाई दिन अस्वीकार गर्नुसँग यो अभियोगको सम्बन्ध जोडिएको हुनसक्ने बीबीसी सिंहलाले जनाएको छ।

Share Now

Leave a comment.