शारजहा(यूएई), २९ असोज । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिगको पहिलो खेलमा नै २ विकेट लिएर नेपाली खेलाडीको शान बढाएका छन् ।
आईतबार राति सारजहाँ क्रिकेट मैदानमा भएको नान्गहर लियोपार्ड र पाक्तिया पान्थरबीचको खेलमा सन्दिपले २ विकेट लिएका हुन । तर खेलमा उनको टीम नान्गहर लियोपार्ड प्रतिस्पर्धी प्यान्थर्ससंग ७ विकेटले पराजित भयो ।
टस जितेर पहिले ब्याटिंग गर्दै नान्गरहरले १ सय २६ रन मात्रै बनाउन सकेपछि १२७ रनको लक्ष्य पक्तिया प्यान्थर्सले १४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
सन्दीपको राम्रो प्रदर्शन

पहिलो ओभर बलिङ्ग गर्ने क्रममा सन्दिप महँगो देखिएका थिए। उक्त ओभरको दोश्रो र तेश्रो बलमा चौका तथा अन्तिम बलमा इन्सानउल्लाहले छक्का प्रहार गरेपछि सन्दिपले १८ रन खर्चेका थिए।
त्यसपछि आठौँ ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ६ बलमा १ रनमात्र बनाउन दिए ।
लगत्तै दशौँ ओभरको बलिड.मा सन्दिपले एकै ओभरमा २ विकेट लिए। ओभरको चौथो बलमा सन्दिपले दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर समेत रहेका क्यामरुन डेल्पोर्टलाई सर्ट मिड-विकेटमा क्याच थमाए। अन्तिम बलमा जिम्बाबे क्रिकेटर सिकन्दर राजालाई गुग्लि गर्दै बोल्ड गरे। उक्त ओभरमा सन्दिपले मात्र २ रन खर्चेर २ विकेट लिए।
१२ औं ओभरमा सन्दिपले विकेटको २ वटा एलबिडब्लुको मौका सिर्जना गरे विकेट भने लिन सकेनन्। यस ओभरमा २ रन बनाउन दिएका सन्दीपले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।
ब्याटिंगमा पनि अन्तिम ओभरमा मौका पाएका सन्दिपले १ बल खेले पनि रन भने बनाउन सकेनन् र खाता नखोली अविजित रहेका थिए।
शानदार बलिङ्ग गरेपछि कमेन्टेटरहरुले अफगान प्रिमियर लिगमा समेत सन्दीपको प्रसंशा गरेका थिए ।

सन्दीपको टिम नान्गरहर अंकतालिकामा ७ खेलमा २ जित र ५ हार बेहोर्दै चौथो स्थानमा रहेको छ। लिगको अन्तिम खेलमा नान्गरहरले अक्टोबर १७ तारिक बुधबार बल्ख लेजेन्ड्ससंग खेल्ने तालिका रहेको छ।
लिगमा सहभागी ५ टिम मध्ये ४ टिम सेमीफाइनल पुग्ने हुँदा अब अन्तिम खेलमा नान्गरहरलाई विजय प्राप्त गर्नुैपर्ने हुन्छ । उसले अंकतालिकामा अन्तिम स्थानमा रहेको कन्दाहर नाइट्सको प्रदर्शनको समेत प्रतिक्षा गर्नु पर्नेछ।
सन्दिपको टिम नान्गरहर बेन कटिंगको कप्तानीमा खेलीरहेको छ जसमा मुजिब उर् रहमान, मिचेल म्याकलेनघन, आन्द्रे रसेल, आन्द्रे फ्लेचर जस्ता खेलाडीहरु रहेका छन्।
सन्दिपलाई नान्गरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो।
लिगमा नान्गरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।
अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।


















