काठमाडौ, २ पौष । भोली पौष ३ गतेदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि काठमान्डौ किंग्स-११ र चितवन टाइगर्सले विदेशी खेलाडी सहितको टीम सार्वजनिक गरेका छन् ।
दुवै टिमले शनिवार राजधानीमा आयोजित अलग अलग कार्यक्रममा टीम सदस्यहरुको घोषणा गरेका हुन् ।
काठमाडौं किंग्स ११ ले श्रीलंकन क्रिकेटर फरभेज महरुफलाई कप्तानको रुपमा घोषणा गरेको छ। कार्यक्रममा टिमले अन्य २ बिदेशी खेलाडी तथा टिमको जर्सी समेत सार्बजनिक गरेको छ। सोमपाल कामि मार्की प्लेयर रहेको किंग्स-११ मा महरुफ सहित अर्का श्रीलंकन खेलाडी अक्षय फर्नान्डिज तथा भारतीय खेलाडी सागर कुमार बिदेशी खेलाडीको रुपमा खेल्नेछन्।
कप्तान महरुफले श्रीलंकन क्रिकेट टिमको लागि सन् २००४ मा डेब्यु गर्दै २२ टेस्ट, १०९ एकदिवसीय तथा ८ वटा टि(२० खेलीसकेका छन्। तिब्र गतिका बलर हुनुको साथ साथै उनि अलराउन्डरको भूमिकामा समेत खेल्ने गर्छन्।
यस्तै अक्षय फर्नान्डिज श्रीलंकाको प्रथम श्रेणी क्रिकेटर हुन् जो मध्येक्रममा ब्याटिंग गर्न सक्छन् भने लेगस्पिन बलिंग समेत गर्न सक्छन्। महरुफको प्रस्ताबमा उनलाई टिमले भित्र्याउने निर्णय गरेको हो।
अर्का क्रिकेटर सागर कुमार भारतको पन्जाबबाट उमेर समुहको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् उनी राम्रो ब्याटिंग तथा बलिंग समेत गर्न सक्ने खेलाडी हुन्।
काठमाडौं किंग्स एघारले पौष ३ मा प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ।
टिममा सोमपाल कामी, नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला रहेका छन्।
चितवन टाइगर्समा तीनजना भारतका खेलाडी
शनिवारै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चितवन टाइगर्सले आफ्नो टिमका बिदेशी खेलाडीहरु प्रबिण गुप्ता, साबेज खान र प्रमेश कुमारसहित सदस्यहरुको घोषणा गरेको हो ।
उत्तर प्रदेशका प्रबिण गुप्ताले ५३ वटा रणजी ट्रफीका क्रिकेट खेलेका छन् भने दिल्लीका साबेज खान र हरियाणाका प्रमेश कुमार घरेलु क्रिकेट प्रतियोगिता खेल्ने गर्छन ।
चितवन टाइगर्सले दोश्रो दिन शक्ति गौचन रहेको पोखरा राइनोज बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
दिपेन्द्र सिंह मार्की खेलाडी रहेको टिममा कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, सुनाम गौतम, योगेन्द्र कार्की, अनिल कुमार मण्डल, दिलिप नाथ, भिम सार्की, दिलिप नाथ, पृथु बास्कोटा रहेका छन् ।
ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।
काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।
लिगको बिजेताले २१ लाख रुपैयाँ पाउनेछ ।