Prakash Adhikari December 15, 2018

 

कीर्तिपुर(काठमाडौं),२८ मंसिर । एभरेष्ट प्रिमियर लिगमा सबैभन्दा पहिले प्लेअफको यात्रा समाप्त गर्ने टीम पोखरा राईनोज भएको छ ।

शुक्रबारको खेलमा काठमाडौंसँग ५ विकेटले पराजित भएसंगै प्रतियोगिताको लिगमा लगातार चार खेलमा हारेर पोखराले अगाडिको यात्रा टुंग्याएको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६५ रन बनायो । बलियो सुरुवात गर्दै पोखराले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । तर ओपनर रिचार्ड लेभी ३८ रनमा आउट हुँदा उसले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका सुनिल धमला मात्र ९ रनमा पेभेलियन फर्किएपछि पोखराले ७७ रनमा दोस्रो विकेट खेर फाल्यो । पोखराको स्कोर एक सय नौ रन हुँदा तेस्रो विकेट झर्यो । उसका कप्तान काहिल काइट्जेर ३७ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका विनोद भण्डारीपनि १७ रनमा पेभेलियन फर्किएपछि पोखराले १ सय ३९ रनमा चौथो विकेट गुमायो । तर उसका मिडिलअडरका खेलाडी राजेश पुलामी र पउल कोलिग्न लगातार रुपमा आउट भएपछि उसले एक सय ५९ रनमा ६ विकेट खेर फाल्यो । कोलिग्न ३७ रनमा आउट भए भने राजेश ९ रनमा पेभेलियन फर्किए । बलिङमा विक्रम भूषालले दुई विकेट लिए ।

जवाफमा काठमाडौले १९ ओभर २ बलमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । पहिलो विकेटका लागि ३५ रनको साझेदारी गर्दै उसले सन्तोषजनक सुरुवात गर्यो । उसका ओपनर अमित श्रेष्ठ ११ रनमा आउट भएपछि काठमाडौंले पहिलो विकेट गुमायो ।

त्यसपछि रोहन मुस्तफा ब्यक्तिगत ४० रनमा पेभेलियन फर्किएपछि काठमाडौले ७७ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसका लगत्तै सागर पुन आउट हुने पुगे । उनले १८ रनमात्र बनाए । त्यसपछि क्रिजमा आएका नरेश बुढाऐर पनि मात्र एक रनमा रनआउट हुँदा काठमाडौंको स्कोर एक सय रन थियो ।

त्यसपछि आनन्द सुब्रमनियम २७ रनमा आउट भएपछि काठमाडौंले १ सय ५८ रनमा पाँचौ विकेट खेर फाल्यो । काठमाडौंको जितमा केभिन ओब्राइनले अविजित ५४ रन बनाए । बलिङमा बिक्रम सोबले दुई विकेट लिए ।

Share Now

Leave a comment.