ढाका(बंगलादेश), १ माघ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने सम्मिलित सिल्हेट सिक्सर्सले कोमिल्ला भिक्टोरियन्सबिरुद्धको चौथो खेलमा लज्जास्पद हार बेहोरेको छ।
घरेलु मैदानमा सन्दीप लामिछाने बिनानै मैदान उत्रिएको सिल्हेटलाई कोमिल्ला भिक्टोरियन्सले ८ विकेटले पराजित गर्यो। पछिल्ला दुई खेलमा लगातार विकेटबिहिन बनेपछि मंगलावरको खेलमा कप्तान डेभिड वार्नरले सन्दिपलाई सुरुवाती ११ मा स्थान दिएनन्।
प्रतियोगिता अन्तर्गत कोमिल्ला बिरुद्धको पहिलो खेलमा भने सन्दिपले १६ रन खर्चिएर २ विकेट हात पारेका थिए।
सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर बलिंग गर्ने निर्णय लिएको कोमिल्लाले सिल्हेटलाई १४.५ ओभरमा ६८ रनमा समेट्न पुग्यो।
सिल्हेटको इनिंगमा आलोक कपालीले अविजित ३३ रन जोड्न बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिल्हेटका ४ ब्याट्सम्यान ० रनको स्कोरमा पभेलियन फर्किएका थिए।
खेलमा कोमिल्लाका महेदी हसनले सर्वाधिक ४ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा हसनले २२ रन खर्चिंदा डेभिड वार्नर, आन्द्रे फ्लेचर, अफिफ हुसेन र सोहेल तनवीरलाई पभेलियनको बाटो देखाएका थिए। यस्तै वाहब रियाजले ३ विकेट लिए ।
जवाफमा ६९ रनको सामन्य लक्ष्य कोमिल्लाले ११.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। कोमिल्लालाई जितसम्म पुर्याउन शम्शुर रहमानले अविजित ३४ तथा कप्तान इम्रुल कायसले अविजित ३० रन जोडे।
लगातार तेस्रो खेलको हारसंगै सिल्हेट अंकतालिकाको पुछारमा रहेको छ। ४ खेलमा १ जित र ३ हार रहेको सिल्हेटको २ अंक रहेको छ। यस्तै बिजयी टोलि कोमिल्लाभने ५ खेलमा ३ जित र २ हार सहित तालिकाको दोस्रो स्थानमा रहेको छ।
अंकतालिकाको शीर्ष स्थानमा ढाका डाइनामाइट्स ८ अंक, तेस्रो स्थानमा चिट्टागोंग ६ अंक , चौथो स्थानमा रंगपुर ४ अंक , पाँचौ स्थानमा राजशाही ४ अंक र छैठौं स्थानमा खुल्ना २ अंक रहेका छन्।