Prakash Adhikari January 23, 2019

 

नयाँदिल्ली(भारत),९ माघ(बीबीसी) । भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू-गान्धी परिवारबाट प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ।

उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान पार्टी अध्यक्ष राहुल गान्धीकी बहिनी हुन्।

पार्टीले उनलाई पूर्वी उत्तर प्रदेशको महासचिव नियुक्त गरेको छ। आगामी फेब्रुअरी महिनादेखि उनले त्यो भूमिका निर्वाह गर्नेछिन्।

भारतमा एप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ।

निर्वाचन हुने कुल ५४३ संसदीय क्षेत्रमध्ये उत्तर प्रदेश राज्यमा सर्वाधिक ८० क्षेत्र छन्।

उत्तर प्रदेशको महत्त्व

भारतको राजनीतिमा उत्तर प्रदेशलाई महत्त्वपूर्ण राज्य मानिन्छ।

यहाँबाट जवाहरलाल नेहरूदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सात नेताहरू प्रधानमन्त्री बनेका छन्।

उत्तर प्रदेशका विभिन्न स्थानबाट गान्धी परिवारका सदस्यहरू निर्वाचनमा सहभागी हुँदै आएका छन्। राहुल गान्धी सन् २००४ देखि सो राज्यको अमेठीबाट निर्वाचित हुँदै आएका छन्।

सत्तारूढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष कांग्रेस दुवैले उत्तर प्रदेशका लागि विशेष निर्वाचन रणनीति बनाउने आकलन गरिएको छ।

गत संसदीय निर्वाचनमा भारतीय जनता पार्टी उत्तर प्रदेशका ८० मध्ये ७५ स्थानमा विजयी भएको थियो। मोदीले बनारसको निर्वाचन क्षेत्रबाट जितेका हुन्।

सन् १९८० को दशकसम्म उत्तर प्रदेशमा कांग्रेस पार्टीको वर्चस्व थियो। तर विभिन्न राजनीतिक कारणले गर्दा सो दलले त्यहाँ आफ्नो प्रभाव गुमाउन थाल्यो।

प्रियङ्का गान्धीलाई मैदानमा ओरालेर कांग्रेसले आफ्नो प्रभाव फिर्ता लिन खोजेको छ।

कांग्रेस नेता राजीव शुक्लाका अनुसार प्रियङ्का गान्धीबाट पार्टीलाई निर्वाचनमा उत्तर प्रदेशमा मात्र नभएर देशैभरि फाइदा पुग्ने बताएका छन्।

तर भारतीय जनता पार्टीले भने कांग्रेसको निर्णयप्रति व्यङ्ग्य गरेको छ।

प्रियङ्का गान्धी
सो दलका प्रवक्ता सम्बित पात्राले भने – सबैतिरबाट अस्वीकृत भएपछि कांग्रेसले गान्धी परिवारबाटै सहयोग खोजेको छ।

“बीजेपी र कांग्रेसमा एउटा आधारभूत भिन्नता छ – बीजेपीका लागि पार्टी परिवार हो तर कांग्रेसका लागि परिवार नै पार्टी हो।”

इन्दिरा गान्धीसँग तुलना

प्रियङ्का गान्धीको तुलना उनकी हजुरआमा इन्दिरा गान्धीसँग गर्ने गरिन्छ।

उनको केश, लुगा र कुरा गर्ने तरिकामा पनि इन्दिरा गान्धीको झल्को आउँछ।

उनी सक्रिय राजनीतिमा आउने चर्चा धेरै पहिलादेखि हुन थालेको हो।

इन्दिरा गान्धी
सन् २०१४ को निर्वाचनमा उनी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीविरुद्ध बनारसबाट उठ्न चाहन्थिन्। तर उनलाई त्यसो नगर्न सल्लाह पार्टीभित्रबाटै दिइएको बताइन्छ।

राहुल गान्धीले कांग्रेसको नेतृत्व सम्हालेपछि प्रियङ्का गान्धी पार्टीमा केही समय सक्रिय देखिइन्। तर बिस्तारै उनी निष्क्रिय हुन थालिन्।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिन प्रियङ्का गान्धीलाई निर्वाचन अभियानमा प्रयोग गर्नुपर्ने धारणा पार्टीभित्र हुँदै आएको थियो।

तर आमा सोनिया गान्धी भने राहुल गान्धीलाई बलियो बनाउन चाहन्थिन्। प्रियङ्का राजनीतिमा आउँदा दाजु र बहिनीबीच तुलना हुने र त्यसबाट पार्टीलाई हानि पुग्ने डर सोनिया गान्धीमा भएको बताइन्छ।

यसअघि सन् २००४ मा पनि पार्टीले प्रियङ्कालाई सोनिया गान्धीको निर्वाचन अभियानमा प्रयोग गरेको थियो।

 

प्रियङ्का गान्धी र रोबर्ट वाड्रा

प्रियङ्का गान्धीको व्यक्तिगत विवरण
जन्म: जेनुअरी १२, १९७२
अध्ययन: दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट मनोविज्ञान
विवाह: व्यापारी रोबर्ट वाड्रासँग सन् १९९७ मा
सन्तान: एक छोरा, एक छोरी

 

Share Now

Leave a comment.