Prakash Adhikari January 25, 2019

 

दुबाई(संयुक्त अरब इमिरेट्सं), ११ माघ । एक दिवसीय र टी २० खेल श्रृखलाका लागि संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलको नतिजा आफ्नो पक्षमा पार्न सकेन । नेपाललाई ३ विकेटले पराजित गर्दै युएईले एकदिवसीय श्रेृखलाको पहिलो खेल जितेको छ ।

दुबई स्थित आईसीसी एकेडेमी मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल बनाएको थियो । ११४ रनको लक्ष्य पाएको युएईको टिमले सो लक्ष्य ३३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।

युएईविरुद्ध नेपालले दियाे मात्र ११४ रनकाे लक्ष्य

नेपालको ब्याटिंग
घाँसे मैदानमा खराब सुरुवात गरेको नेपालको लागि ओपनिङ्ग ब्याटिंग गरेका ज्ञानेन्द्र मल्ललाई इनिंगको पहिलो ओभरमा खाता नखोल्दै मोहम्मद नबिदले आउट गराए भने अर्का ओपनर बिनोद भण्डारी पनि नबिदको बलमा ५ रनमा नै विकेटकिपरबाटै समातिन पुगे।

कप्तान पारस खड्का र सोमपाल कामीले २६ रनको साझेदारी गरे। तर १२ औं ओभरमा पारस खड्का पनि कदिर एहमदको सर्ट बललाई पुल गर्ने प्रयासमा फाइन लेगमा समातिन पुग्दा नेपालको तेश्रो विकेट गुम्न पुग्यो। कप्तान पारसले ३६ बलमा ३ चौका प्रहार गरे।

त्यसपछि ब्याट समाउन आएका दिपेन्द्र ऐरी र सोमपाल कामीबीच सुसमझदारी काम नहुँदा ऐरी १३ औं ओभरमा रन आउट हुन पुगे। दिपेन्द्र रन लिन दौडीसकेको बेला अर्को किनारमा रहेका सोमपाल टोलाएर बसिरहेका थिए । ऐरि पुनः आफ्नै किनारमा फर्कने क्रममा खाता नखोल्दै रन आउट हुन पुगे। नेपाल १२ औ ओभरको चौथो बल सम्म पुग्दा ४ विकेट गुमाउदै ४७ रनमा सीमित भएको थियो ।

त्यसपछि सोमपाल कामी र आरिफ शेखले नेपालको योगफललाई अघि बढाउने प्रयास गरे। सोमपाल २१ औं ओभरमा इमरान हैदरको बलमा एलबिडब्लु हुन पुगे। उनले ४७ बलमा ३ चौका मदतले ३० रन बनाए।

सोमपालको पछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका पवन सर्राफ ४ रन , करन केसी ३ रन र बसन्त रेग्मी खाता नखोल्दै आउट हुँदा नेपाल २५ औं ओभरमा ८ विकेट गुमाएर ८१ रनमा सीमित भएको थियो ।

१०० भन्दा कम योगफलमा समेटिने अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र सन्दिप लामिछानेले नवौं विकेटको लागि २५ रनको साझेदारी गर्दै योगफल १०० पार गराए। सर्ट बलमा ठुलो सट खेल्ने चक्करमा आरिफ मोहम्मद नबिदको बलमा क्याच आउट हुन पुगे। उनले ४३ बलमा ३ चौका मदतले २५ रन बनाए।

आरिफको विकेट पछि एउटा किनारमा धैर्यतापूर्वक ब्याटिंग गरिरहेका सन्दिप लामिछाने पनि १५ रन बनाएर आउट हुन पुग्दा नेपालले ३३ ओभरको पाचौं बलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

युएईको लागि बलिङ्गमा मोहम्मद नबिद र आमिर हायातले ३।३ विकेट लिए। यस्तै इमरान हैदरले २ विकेट र कदिर एहमदले १ विकेट लिए।

युएईको ब्याटिंग

नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३३.१ ओभरमा ७ विकेट गुमाउदै ११६ रन बनाएर पूरा गर्यो ।

शुक्रबारको खेलमा युएईको पनि ब्याटिड. कमजोर रह्यो । ओपनर अस्फाक एहमद ५ रन बनाएर करन केसीको बलमा एलबिडब्लु आउट हुन पुगे भने चिराग सुरी ४ रन बनाउदा सोमपाल कामीको बलमा क्याच आउट हुन पुगे।

शैमन अनवर १५ रन बनाएर करन केसीको दोश्रो शिकार बने। यस्तै मुहम्मद उस्मानलाई ६ रन बनाउदा पारस खड्काले विकेट किपर बिनोद भण्डारीको हातमा क्याच आउट गराए।

सन्दीप लामिछानेले फहाद नवाज र घुलाम शब्बिरको विकेट लिंदा नेपाल बलियो अवस्थामा पुग्यो। पारस खड्काले मोहम्मद बुता लाई क्याच आउट गरेपछि यूएर्ई २० औं ओभरमा ७ विकेट गुमाउदै युएई ७३ रनमा सीमित रहेको थियो ।

त्यसपछि ब्याट थामेका अमिर हायात र इमरान हैदरले ४३ रनको शानदार साझेदारी गर्दै नेपालको जित खोसे। ३३ औं ओभरको पहिलो बलमा जितको लागि ४ रन आवस्यक हुँदा हायातले सन्दिप लामिछानेको बलमा हायातले छक्का प्रहार गरे र टीमलाई विजयी बनाए ।

नेपालको लागि सन्दिप लामिछाने , करन केसी र पारस खड्का ले २ । २ विकेट लिए तथा सोमपाल कामीले एक विकेट लिए।

बलिङ्गमा पनि ३ विकेट लिएका हैदर खेलको प्लेयर अफ द म्याच चुनिए।

सिरिज अन्तर्गत दोश्रो एकदिवसीय खेल भोलि शनिवार आईसीसी एकेडेमीमा बिहान ११ः१५ बजे सुरु हुनेछ।

Share Now

Leave a comment.