Prakash Adhikari February 21, 2019

 

धनगढी(कैलाली), ९ फागुन । रूपन्देही च्यालेञ्जर्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेड डीपीएलको क्वालिफायर्समा प्रवेश गरेको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउदै १ सय १५ बनाएको थियो ।

महेन्द्रनगर युनाईटेडबाट १ सय १६ रनको लक्ष्य पाएको रुपन्देहीले २० ओभरमा १ सय १४ रनमात्र जोड्न सक्यो ।

 

मध्यम सुरुवात गरेको रुपन्देहीले २६ रनमा पहिलो विकेट गुमायो भने ५२ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर सन्दीप सुनार १४ रनमा आउट भए भने बाबर हायात २८ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै सुमित महर्जनपनि बाहिरीएपछि रुपन्देहीले ५६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

रुपन्देहीले अरु १० रन स्कोरबोर्डमा जोड्दा थप दुई विकेट गुमायो । उसका पुनित मेहरा ६ रनमा आउट भए भने भिम शार्कीले खाता खोल्न सकेनन् । तर त्यसपछि विनोद भण्डारी र प्रदिप ऐरीले छैटौ विकेटका लागि ३७ रनको साझेदारी गर्दै टिमलाई जितको नजित पुर्याएका थिए । विनोदले २३ रन बनाए भने प्रदिपले अविजीत २८ रन बनाए ।

तर अन्तिम बलमा जितका लागि तीन रन आवश्यक रहेकोमा रुपन्देहीले बटुल्न सकेन । बलिङमा अभिनाश बोहोराले दुई विकेट लिए ।

टस जितेर ब्याटिड. रोजेको महेन्द्रनगर युनाईटेडका ओपनर दिलिपनाथ खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि २४ रनमा दोस्रो विकेट गुमाएको महेन्द्रनगरले ४० रन बनाउदा तेस्रो विकेट खेर फाल्यो । उसका मोहम्मद नाभिद १८ रनमा आउट भए भने सुब्रमनियम आनन्द २० रनमा पेभेलियन फर्किए ।

एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरको विकेट झर्नेक्रम यतिमा रोकिएन । उसले ६१ रन बनाउदा ६ विकेट खेर फाल्यो । आरिफ शेख ११, रोहित पौडेल दुई रनमा आउट भए भने सिद्धान्त लोहनीले खाता खोल्न सकेनन् । त्यसपछि सातौं विकेटका लागि कप्तान शरद भेषवाकर र अमरसिंह रौटेलाले ३९ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । तर रौटेला १९ रनमा आउट हुँदा महेन्द्रनगरको स्कोरबोर्डमा एक सय रन पुगेको थियो । अन्तिममा अविनाश बोहराले ११ रन जोडे भने कप्तान शरद भेषवाकर २९ रनमा अविजीत रहे ।

बलिङमा ललित भण्डारीले ४ तथा पुनीत मेहरा ३ र बसन्त रेग्मी २ विकेट लिए ।

Share Now

Leave a comment.