Prakash Adhikari February 26, 2019

हनोई(भियतनाम),१४ फागुन(बीबीसी) ।   उत्तर कोरियाली नेता किम जङ-अन बुधवार र बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने दोस्रो शिखरवार्ताका लागि भियतनामको हनोई पुगेका छन्।

भियतनाममा किम
दुई दिनभन्दा बढी समय लगाएर उनले प्योङ्याङदेखि हनोईसम्मको झन्डै चार हजार किलोमिटरको यात्रा एउटा निजी रेलमा गरेका थिए।

ट्रम्प र किमबीच गत वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो। उनीहरूले वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए।

अहिलेको उनीहरूको भेटघाट कार्यक्रमबारे बल्ल केही स्पष्ट हुन थालेको छ।

आइतवार किम प्योङ्याङबाट हिँडेको पुष्टि भएपछि मात्र शिखरवार्तामा उनको सहभागिताबारे पहिलो स्वीकारोक्ति आएको थियो।

ट्रम्पले समेत आफू हनोई पुगेको भन्दै ट्वीट गरेका छन्।

भेटघाट र वार्ता

ह्वाइट हाउसकी प्रवक्ताले बताएअनुसार बुधवार साँझ उनीहरूले एक्लाएक्लै सङ्क्षिप्त वार्ता गर्नेछन्।

त्यसपछि आफ्ना केही सल्लाहकारसँगै बसेर साँझको खाना खानेछन्।

बिहीवार भने उनीहरूबीच चरणबद्ध वार्ताहरू हुनेछन्।

यो बैठक खासगरी सिङ्गापुर वार्ताबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई कार्यान्वयन तहमा लैजाने थप आधारहरू तयार गर्ने बताइएको छ।

सिङ्गापुर वार्तापछि दुई देशबीच कूटनीतिक तहमा खासै प्रगति हुन सकेको थिए। बरु दुवै पक्षबाट तिक्ततापूर्ण भनाइहरू व्यक्त भएका थिए।

यस पटक दुवै नेताले स्पष्ट प्रगति देखिनेगरी सम्वाद गर्ने ठानिएको छ।

किम-ट्रम्प
गत वर्ष किम र ट्रम्पबीच पहिलो पटक सिङ्गापुरमा भेटेवार्ता भएको थियो

तर ठूलो अपेक्षालाई मत्थर गर्नेगरी ट्रम्पले भने “आफू हतारमा नरहेको” प्रतिक्रिया दिएका छन्।

उत्तर कोरियालाई निरस्त्रीकरण गर्न दबाव दिन आफू हतारमा नरहेको जनाउ दिँदै ट्रम्पले ट्वीटमा लेखेका छन्, “म कसैलाई हतार गर्न लाउन चाहन्नँ। म [अस्त्र] परीक्षण नहोस् भन्ने चाहन्छु। परीक्षण नहुने हो भने हामी सन्तुष्ट नै छौँ।”

लामो रेलयात्रा

किम पहिलो पटक दुई कोरियाको असैनिकीकृत क्षेत्रमा देखा पर्दा उनको गाडीसँगै दौडेका सुरक्षाकर्मीको भिन्न शैलीले धेरैको ध्यानाकृष्ट भएको थियो।

सिङ्गापुर जाँदा भने उनी चिनियाँ विमानको प्रयोग गरेका थिए।

यस पटक उनले आफ्ना हजुरबुवा किम इल-सङको पदचाप पच्छ्याउँदै लामो दूरी रेलमा यात्रा गरे।

केही घण्टामै हवाइजहाजमा तय गर्न सकिने उक्त यात्राका लागि रेल रोज्दा बाटोमा पर्ने मार्ग र रेल स्टेशनहरू सर्वसाधारणका लागि बन्द गरिएका थिए।

प्योङ्याङमा रेल चढ्दै किम

यात्राको सबैभन्दा बढी भूभाग समेटिएको चीनमा परेको असरप्रति आक्रोश र व्यङ्ग्य त्यहाँका सामाजिक सञ्जालमा पोखिएको थियो।

आफ्नो देशबाट निस्केपछि यात्राले समेट्ने भूभागमा चीन र भियतनाम मात्र रहेकोले पनि उनले सुरक्षाका दृष्टिले त्यस्तो विकल्प ठानेको बताइएको छ।

चीन र भियतनाम दुवै कम्युनिस्ट सत्ता भएका देश हुन् र उनीहरूको उत्तर कोरियासँग निकै राम्रो सम्बन्ध छ।

उता कुनै समय अमेरिकाको कट्टर शत्रुका रूपमा रहेको भियतनाममा ट्रम्प जानुलाई ‘उसले तिक्ततापूर्ण विगत मेट्न सकिन्छ’ भन्ने साङ्केतिक सन्देश दिन खोजेको देखिन्छ।

नक्कली किम’लाई देशनिकाला

किम जङ-अनजस्तै देखिने एक युवालाई शिखरवार्ताअघि भियतनामबाट निकाला गरिएको छ।

यसअघि किम जङ-अनको नक्कल गर्ने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले समातेर झपारेको थियो।

नक्कली किम-ट्रम्प
किम जङ-अनको नक्कल गर्ने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइट

उनीहरू हनोईमा ती दुई नेताको भेष धारण गरेर नक्कल गरिरहेका थिए।

त्यसो गर्न नछोडे उनीहरूलाई देशबाट निकालिदिने चेतावनी भियतनामी पक्षले दिएको थियो।

एक्स हङकङका बासिन्दा हुन्। उनका अनुसार प्रहरीले उनको भिसा नक्कली भएको बताएर देशबाहिर पठाएको हो।

किमको रेल यात्रा
किमजस्ता देखिने उनले भने, “जुनकुनै तानाशाहीका लागि व्यङ्ग्य शक्तिशाली हतियार हो। साँच्चैजस्तो देखिने केही मानिसहरूबाट उनीहरू आत्तिए।”

आफूलाई निकालिनुको एउटा कारण किमसँग ‘हास्यव्यङ्ग्यको चेत नहुनु’ पनि रहेको उनको तर्क छ।

Share Now

Leave a comment.