काठमाडौं,२५ चैत्र । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई जापानको ओसाकामा पुन नियमित उडान गर्ने अनुमति प्राप्त भएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आवश्यक कागजात सबै बुझाइसकिएकोले भोलिसम्म अनुमति आउने बताउनुभयो । तर निगमको भरपर्दो स्रोतले भने अनुमति पाईसकिएको बताएको छ । निगमले जुलाइ ४ देखि साताको तीनवटा उडान गर्ने अनुमति पाएको छ।
निगमले काठमाडौं-ओसाका उडानको लागि नेपाली समय राति २ : ३० बजेको समय पाएको छ भने ओशाका अवतरणको लागि बिहान ११: ५५ (जापानको समय अनुसार) को समय पाएको छ । निगमले ओसाका- काठमाडौं उडानका लागि दिउँसो १ : ५५ (जापानको समय) को समय पाएको छ।
निगमले जापान सिभिल एभिएसन ब्यूरो(जेक्याबं)बाट उडान अनुमति पाएको ४० दिनभित्र नियमित उडान गर्ने योजना बनाएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका लागि हाल राती १० बजेदेखि विमानस्थल पूर्णत बन्द रहेकोले निगमको उडान जुलाइ पुग्ने देखिएको हो ।
निगमले एयरबसका दुईवटा ३३० सेरिजका वाईडबडीका विमान किनेको बर्षदिनपछि मात्र निगमले तिनको उडानको लागि एक नयाँ गन्तव्य पाएको हो ।
निगमले मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाकास्थित कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा उडान गर्ने योजना बनाएको छ।
निगमले जापानको राजधानी टोकियो निकट रहेको नारिता विमानस्थलमा नियमित उडानको लागि पनि आवेदन दिइसकेको छ।
तर जापानको राजधानी टोकियोमा नै हानेडा विमानस्थाल रहेको र विश्वका ठूला र चल्तीका एअरलाइन्सहरुको सेवा हानेडमा भएकोले अन्तर्राष्टिय उडान सञ्जालमा नारिताको अवस्था कमजोर रहेकोले जापान जाने आउने यात्रुहरुको रोजाईमा नारिता प्राथमिकतामा नपर्ने बताइन्छ ।
ओसाकामा भने त्यस्तो समस्या रहेको छैन ।

निगमले पहिले पनि बोइड. ७५७ बाट काठमाडौं -संघाई -ओसाका उडान गर्ने गरेको थियो । पछि जहाजको कमी भएर ओसाका उडान स्थगित हुँदै बन्दै हुन गएको हो ।
काठमाडौं ओसाकाको सीधा उडान अवधि ६ घण्टाको हुनेछ भने ओसाका-काठमाडौं उडान समयावधि साढे सात घण्टा रहेको छ।
निगमले जापानमा पुनः उडान सुरु गर्न कायमुकायम उपनिर्देशक सन्तोष पाण्डेलाई कन्ट्री म्यानेजर पदमा नियुक्त गरी ४ महिना पहिल्यै पदस्थापन गरिसकेको थियो।



















