काठमाडौं, ३० चैत्र । नेपालमा महिला क्रिकेटको क्रेज पनि बढ्न थालेको छ । केही समयअगाडि नेपाली महिला क्रिकेटलाई जीवन्त र प्रतिस्पर्धी बनाउन वुमन च्याम्पियन लिग घोषणा भएर त्यसको टीम,मार्की खेलाडी सार्वजनिक भै टीमका खेलाडीहरु अक्सनबाट चयन समेत भैसेका छन् ।
यस्तो उत्साहप्रद अवस्थामा क्रिकेट खेलको विकासलाई सघाउने उद्देश्यले स्थापना भएको क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा अर्को वुमेन च्याम्पियन्स लिग टि २० प्रतियोगिता हुने भएको छ । यसमा सहभागी हुने टीम र मार्की खेलाडी घोषणा गरिएको छ।
शुक्रबार राजधानीमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा यो प्रतियोगिताको टीम र मार्की खेलाडी घोषणा गरिएको छ। प्रतियोगितामा ५ टोली सहभागी हुनेछन् जसको नाम नेपालका ५ शहरबाट राखिएको छ। प्रतियोगितामा क्यापिटल्स रोयल काठमाडौँ, पोखरा पल्टन, चितवन राइनोज, ललितपुर फाल्कोन्स, बिराटनगर टाईटन्स सहभागी हुनेछन्।

लिगमा खेल्ने ५ टीमको मार्की खेलाडीहरुको नाम समेत घोषणा गरिएको छ। महिला राष्ट्रिय टिमको कप्तान समेत रहेकी रुबिना क्षेत्री क्यापिटल्स रोयल काठमाडौँको मार्की खेलाडी हुनेछिन्। यस्तै पोखरा पल्टनको मार्की सिता राना मगर, चितवन राइनोजको मार्की इन्दु बर्मा, ललितपुर फाल्कोनको मार्की नेरी थापा तथा बिराटनगरको मार्की सरिता मगर हुनेछिन्।
क्यापिटल्स रोयल काठमाडौँको स्वामित्व जेफोर स्पोर्ट्सको दीपा अग्रवालको नाममा रहेको छ। यस्तै पोखरा पल्टनको स्वामित्व विनायक पोखरेलको, चितवन राइनोजको स्वामित्व मिङ्ग्मा डोन्डु , ललितपुर फाल्कोनको स्वामित्व सिर्जना जोशी तथा बिराटनगरको स्वामित्व पूर्व राष्ट्रिय क्रिकेटर पारस लुनियाको रहेको छ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र छुम्बी लामा संलग्न रहेका छन्। यस अघि म्यानेजमेन्टले पोखरामा पोखरा प्रिमियर लिग टि २० संचालन गरिसकेको छ जसमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरु सहभागी थिए।


















