त्रिशुली(नुवाकोट), १७ बैशाख । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नु भन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो । सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ । त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले–नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन । रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।
तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यावसायिक रुपमा विद्युत उत्पादनमा केही ढिलाइ भएको घिसिङले बताए । ‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौं, नन्–लोड टेष्टिङ सफलतापूर्वक सम्पन्न भएको छ ।
अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए–नभएको हेरिन्छ । पानी खाली गर्न र भर्न ५–६ दिन लाग्छ । यसबीचमा अन्य कामहरु पनि समानान्तर रुपमा अगाडि बढ्छन्’, उनले भने । ‘वैशाखभित्र (१५मे २०१९) मा व्यावसायिकरुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुनेछ ।’
दोस्रो युनिट (३० मेगावाट) को असार भित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङ लगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) स“ग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।
१७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्ने गरी सिजिजिसीस“ग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद १६ असार २०७३ (३० जुन २०१६) सम्म थपिएको थियो ।
भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख २०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो । भूकम्प र पहिरोले बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।