वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),१० आषाढ (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।
देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईप्रति लक्षित नयाँ प्रतिबन्धहरूलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र ‘अन्य थप कुराको’ प्रत्युत्तर भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उनीविरुद्ध त्यस्तो कदम चालिएको बताएका छन्।
इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकीहरू “कूटनीतिलाई घृणा गर्छन्” भन्दै टिप्पणी गरेका छन्।
अमेरिकी राष्ट्रपतिले नयाँ प्रतिबन्ध घोषणा गरेपछि उनले ट्रम्प प्रशासनले ‘युद्धको तृष्णा’ देखाएको भन्दै एउटा ट्वीट गरेका थिए।
.@realDonaldTrump is 100% right that the US military has no business in the Persian Gulf. Removal of its forces is fully in line with interests of US and the world. But it's now clear that the #B_Team is not concerned with US interests—they despise diplomacy, and thirst for war.
— Javad Zarif (@JZarif) June 24, 2019
केही सातायता इरान र अमेरिकाबीच तनाव चर्किएको छ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले दुवै पक्षलाई शान्तिपूर्ण ढङ्गले कूटनीतिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
कसलाई कस्तो प्रभाव?
दुई देशबीच तनाव चुलिएकै बेला अमेरिकी राष्ट्रपतिले इरानमा आक्रमण गर्ने योजना बनाएको तर पछि त्यसो नगरिएको कुरा सार्वजनिक गरे।
अहिले थप प्रतिबन्धको घोषणा भएको छ।

आयातोल्लाह अली खामेनेई इरानका सर्वोच्च नेता हुन्
अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्धहरू इरानको सत्तामा बस्ने र इस्लामिक रेभ्युलूशनरी गार्ड कोर भनिने इरानी सेनाको “हानिकारक क्षेत्रीय गतिविधि” को नेतृत्व गर्ने आठ वरिष्ठ नेताप्रति लक्षित छन्।
यी प्रतिबन्धले इरानको नेतृत्वले आर्थिक स्रोतको पहुँच रोकिदिनेछ र इरानका सर्वोच्च नेता वा उनको कार्यालयले नियुक्त गरेका अधिकारीविरुद्ध कारबाही गर्न सघाउने अमेरिकाको अपेक्षा छ।
अमेरिकी अर्थमन्त्री स्टिभ मनुशिनका अनुसार इरानी विदेशमन्त्रीविरुद्ध पनि यही साता प्रतिबन्ध लगाइनेछ।
बीबीसी संवाददाता बार्बरा प्लेट भन्छिन्- असीमित आर्थिक अधिकार भएका सर्वोच्च नेतामाथि लगाइएका यी प्रतिबन्ध अर्थपूर्ण छन्।
के भन्छन् दुई पक्ष?
सुरक्षा परिषद्ले एउटा आपत्कालीन बैठकमा अमेरिकी प्रतिनिधिले तेहरानलाई खाडीमा व्यावसायिक रूपमा तेल ओसार्ने पानीजहाजमाथि आक्रमण गरेको दोष लगाएका थिए।
राष्ट्रसङ्घका लागि अमेरिकाका कार्यवाहक स्थायी प्रतिनिधि जनथन कोहेनले त्यस्तो काम अस्वीकार्य भएको कुरा विश्वले तेहरानलाई भन्नुपर्ने बताए।
इरानले आफ्नो सीमाक्षेत्रमा प्रवेश गरेकाले अमेरिकी ड्रोन खसालिएको दाबी गरेको छ। उसले आफ्नो सीमाको रक्षा गरिने “स्पष्ट सन्देश” अमेरिकालाई दिइएको जनाएको छ।
अमेरिकी पक्षले ड्रोन स्ट्रेट अफ होर्मुजमाथि अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडेको दाबी गरेको छ।

राष्ट्रसङ्घमा इरानी राजदूतले अमेरिकाले आफ्नो सैन्य दम्भ देखाउने काम बन्द गर्नुपर्ने टिप्पणी गरेका छन्।
“नयाँ प्रावधानहरूले अहिले अमेरिकासँग वार्ता गर्ने समय नभएको बताउँछ। आफूलाई तर्साइरहेको कसैसँग वार्ता सम्भव छैन।”

सुरक्षा परिषद्ले ओमानको खाडीमा भएका आक्रमणलाई ऊर्जा आपूर्ति र शान्तिको लागि खतरा भन्दै एकमतले भर्त्सना गरेको छ।
तर आक्रमणबारे गरिएको टिप्पणी कसैमाथि लक्षित छैन। इरानले त्यसमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ।
इरानी टीभीमा देखाइएको दृश्य – यसरी जल्यो तेल बोलेको ट्याङ्कर

पहिला के भएको थियो?
सन् २०१८ को मे महिनामा ह्वाइट हाउसले सन् २०१५ को इरानी परमाणु सम्झौताअन्तर्गत हटाएका प्रतिबन्धहरू फेरि लगाएको थियो।
इरानको परमाणु महत्त्वकाङ्क्षालाई सीमित पारिएको उक्त सम्झौताबाट अमेरिका पछि हटेपछि उसले इरानविरुद्ध थप प्रतिबन्ध लगाउँदै आएको छ।
केही समययता अमेरिकाले इरानी पेट्रोलियम किन्ने छुट पाएका देशहरूलाई पनि इरानसँग व्यापारिक सम्बन्ध नराख्न दबाव दिएको थियो।
इरानले पनि परमाणु सम्झौताबाट आफू आंशिक रूपमा छुट्टिएको बतायो।
केही समयअघि उनले ऊर्जा उत्पादनका लागि सञ्चय गर्ने अनुमति पाएको भन्दा बढी ‘लो इनरिच्ड युरेनियम’ उत्पादन गर्ने घोषणा गरेको छ।

एउटा बेग्लै वक्तव्यमा ब्रिटेन, फ्रान्स र जर्मनीले इरान परमाणु सम्झौतामा रहेको आफ्नो प्रतिबद्धतालाई दोहोर्याएका छन्।
तर एक वर्षअघि अमेरिका सो सम्झौताबाट पछि हटेको थियो।
पुराना प्रतिबन्धको असर कस्तो?
पहिला अमेरिकी प्रतिबन्ध ऊर्जा, सामानको ओसारप्रसार र आर्थिक क्षेत्रमा केन्द्रित थियो।
त्यसले इरानमा वैदिशिक लगानी सुक्यो र तेल निर्यात प्रभावित भयो।
अमेरिकाले अमेरिकी कम्पनीहरूलाई इरानसँग व्यापार गर्न दिँदैन। इरानसँग व्यापारिक सम्बन्ध भएका देश र कम्पनीसँग पनि सम्बन्ध हुन उसले दिँदैन।
त्यसैले इरानमा आयातीत वस्तुको अभाव हुन्छ। विदेशबाट कच्चा पदार्थ झिकाएर बनाउने बच्चाहरूको न्याप्किन पनि हत्तपत्त पाइँदैन।
इरानको मुद्रा रियालको मूल्य घटेको छ। त्यसले स्थानीय रूपमा उत्पादन हुने खाद्यपदार्थ, मासु र अण्डाको भाउ पनि बढेको छ।


















