नयाँ दिल्ली (भारत),१८ असार । भारतीय कांग्रेस(कांग्रेस आई)का अध्यक्ष राहुल गान्धीले हालै सम्पन्न लोकसभाको निर्वाचनमा भएको पार्टीको लज्जास्पद हारपछि कांग्रेस अध्यक्ष पदबाट बुधबार राजिनामा राजीनामा दिनुभएको छ ।
उहाँले लोकसभा निर्वाचनपछि भएको पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीको पराजयको जिम्मेवारी आफूले लिने बताउदै अध्यक्ष पदबाट राजिनामा दिने घोषणा गर्नुभएको थियो । तर चुनावी पराजयबाट मर्माहत बनेको कांग्रेसको केन्द्रीय कार्यसमितिले तत्काल निर्णय नलिन दबाव दिएपछि उहाँले रोकिनुभएको थियो ।
कांग्रेस अध्यक्ष राहुलले राजिनामाका सन्दर्भमा जारी गर्नुभएको लामो वक्तव्यमा पार्टीलाई पुन जागृत गराउन २०१९ मा भएको पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने र यसको सुरुआत आफूबाट भएको घोषणा गर्नुभएको छ । उहाँले आफू भारतलाई स्वतन्त्र गर्ने , भारतमा लोकतान्त्रिक संविधान जारी गर्ने र भारतलाई लोकतान्त्रिक मार्गमा लैजाने कांग्रेस आई जस्तो ऐतिहासिक पार्टीको कार्यकर्ता र अध्यक्ष भएकोमा गर्व गर्दै कांग्रेसले स्थापना गरेका लोकतान्त्रिक मूल्य,मान्यताहरु ध्वस्तै हुँदै गएको र राज्यलाई नियन्त्रण गर्ने मनशाय स्थापित हुँदै गएको बताउनु भएको छ । सो गलत प्रवृतिको विरुद्ध कतिपय अवस्थामा आफू एक्लै उभिन परेको यथार्थ बताउदै सन २०१९ को निर्वाचनमा राज्यका सम्पूर्ण संयन्त्रलाई सैन्य शासनमा मार्शल लगाए जसरी विपक्षीका विरुद्ध प्रयोग गरिएको बताउनुभएको छ ।
आफू अन्तिम स्वाससम्म देश र पार्टीप्रति भने समर्पित भैरहने उल्लेख गर्दै पार्टीलाई आवश्यक परेको बेला सबै सहयोग गर्न आफू तयार रहेको उहाँले बताउनुभएको छ ।
पार्टीका नेता र कार्यकर्ताहरुले उत्तराधिकार चयन गर्न जिम्मा लिन आग्रह गरेपनि लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्नु उपयुक्त हुने महसुस गरेर आफले केन्द्रीय समितिलाई विधान अनुरुप सामूहिक निर्णय लिएर अगाडि बढ्न सुझाव दिएको पनि उहाँले बताउनुभएको छ ।
हेर्नुहोस् , राहुलको मन्तव्य :