मोगादिसु(सोमालिया),२८ आषाढ(बीबीसी) । दक्षिणी सोमालियाको एउटा होटलमा भएको हमलामा एक टेलिभिजन पत्रकारसहित कम्तीमा २६ जना मारिएको समाचारहरूमा जनाइएको छ।
हमलामा ज्यान जोगाउन सफल भएका र अधिकारीहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए।
त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरे।
पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको छ।
इस्लामिक समूह अल-शबाबले हमलाको जिम्मेवारी लिएको छ।
अधिकारीहरूका अनुसार चारजना आक्रमणकारी मारिएपछि हमला समाप्त भएको छ।
होटलमा को थिए?
क्षेत्रीय नेताहरू र जातीय समुदायका अगुवाहरू होटलमा थिए।
र हमलाका बेला त्यहाँ उनीहरूले आसन्न क्षेत्रीय निर्वाचनबारे छलफल गरिरहेका थिए।
प्रत्यक्षदर्शीहरूले विस्फोटन लगत्तै गोलीको आवाज सुनेका थिए।
हमलाकारीहरू होटलभित्रै भए-नभएको अझै स्पष्ट हुन सकेको छैन।
एकजना सुरक्षा अधिकारी अब्दी धुहुलले एएफपी समाचार संस्थालाई बताए अनुसार एकजना पूर्व स्थानीय प्रशासनमन्त्री र एकजना सांसद मारिनेमध्ये छन्।
पत्रकारको मृत्यु
स्थानीय सञ्चारमाध्यमहरू र सोमाली पत्रकार महासंघले ४३ वर्षीया नल्य र उनका श्रीमान फरिद मारिनेमध्ये रहेको जनाएका छन्।
नल्यले सञ्चालन एवम् उत्पादन गर्ने एउटा अङ्ग्रेजी भाषाको कार्यक्रम ‘इन्ट्रीगेसन टिभी’ले भने अझै ती समाचारहरूको पुष्टि गरेको छैन।
नल्यले सोमालियाभित्रको जीवन र देशबाहिर बस्ने सोमाली समुदायबारे आफ्नो कार्यक्रमहरू केन्द्रित गर्थिन्।
उनको पछिल्लो शृङ्खला सोमालियाका प्रेरणादायी महिला उद्यमीहरू र सहरमा गर्न सकिने क्रियाकलापहरूबारे केन्द्रित थियो।
उनी छ वर्षको छँदै आफ्नो परिवारसँग क्यानाडा बसाइ सरेकी थिइन्।
उनी क्यानडामा सोमाली समुदायको एकजना उल्लेख्य व्यक्ति थिइन्। दुई सन्तानकी आमा उनी हालसालै सोमालिया फर्केकी थिइन्।
I’m saddened by the death of my dear friend the Somali Canadian journalist, Hodan Nalayeh, who was among those killed in today's attack in #Kismaayo. She was a bright star & a beautiful soul that represented the best of her people & homeland #Somalia at all times. RIP sister. pic.twitter.com/DGkEcTPED4
— Farhan Jimale (@farhanjimale) July 12, 2019
क्यानाडाका राजनीतिज्ञ एन्ड्रेय होर्वाथले उनको मृत्युको खबरबारे ट्वीटरमा प्रतिक्रिया जनाउँदै ‘उनमा भएको असीमित सकारात्मक सोच र मानिसहरूलाई उनले गर्ने माया प्रशंसनीय रहेको’ बताएकी छन्।
अवस्था
सोमाली जर्नलिस्ट सिन्डिकेटले जनाए अनुसार नेल्यसँगै अर्को एकजना पत्रकार मोहमद ओमार सहलसमेत किस्मायुमा मारिएका छन्।
उनीहरू त्यहाँ यो वर्ष मारिने पहिला पत्रकार हुन्।

लडाकु समूह अल-शबाब सन् २०१२ मा किस्मायुबाट हटेको थियो।
उक्त बन्दरगाह सहर सोमालियाको अन्य भागभन्दा पछिल्ला वर्षमा तुलनात्मक रूपमा शान्त मानिन्थ्यो।
राजधानी मोगादिसुमा अफ्रिकी सङ्घका शान्तिसेना र अमेरिकाको तालिम पाएका सोमाली फौजहरू ठूलो सङ्ख्यामा तैनाथ छन्।
तैपनि त्यहाँ लडाकुहरूले बारम्बार हमला गर्ने गरेका छन्।


















