काठमाडौं, २७ पौष । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको आज विभिन्न कार्यक्रम गरी संझना गरिँदैछ।
उनको अगुवाईमा तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गर्ने अभियान उत्कर्षमा पुगेको थियो ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो।
टुक्रे राज्यलाई समेट्ने क्रममा वि.सं. १८२५ मा इन्द्रजात्राका दिन काठमाडौंमाथि आक्रमण गरी उनको फौजले विजय प्राप्त गरेको थियो। यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए।
उनले सुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो।
पछि नेपाल–अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुग्यो। २०६२ सम्म पृथ्वीनारायणको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिएको थियो।
पृथ्वीजयन्तीका दिन दिइँदै आएको बिदा ०६३ सालमा भएको जनआन्दोलनपछि गठित सरकारले कटौती गरेको थियो।
यो वर्ष भने मन्त्रिपरिषद्ले निर्णय गरी पृथ्वीजयन्तीका अवसरमा बिदा दिइएको छ।
‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, घूस लिने र दिने देशका महाशत्रु हुन्ु लगायत पृथ्वीनारायण शाहका कैयौं उद्गार आज पनि सान्दर्भिक मानिन्छन्। वि.स. १८२५ माघे संक्रान्तिमा नुवाकोटको देवीघाटमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।