Prakash Adhikari November 21, 2019

काठमाडौं,५ मंसिर । बुधबार नियुक्त हुनुभएका मन्त्रीहरुलाई राष्ट्रपति  विद्यादेवी भण्डारीले बिहिबार सपथ गराउनुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार बेलुका ६ जना मन्त्री र ३ जना राज्य मन्त्री नियुक्त गर्नुभएको थियो ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको थियो।

नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदबहाली गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली बुधबार साँझ हृदयेश त्रिपाठी (संघीय मामिला तथा सामान्य प्रशासन  ),रामेश्वर राय (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) घनश्याम भुषाल(कृषि तथा पशुपन्छी विकास), लेखराज भट्ट (उद्योग, वाणिज्य तथा आपूर्ति),वसन्त नेम्वाङ (भौतिक पूर्वाधार तथा यातायात) र पार्वत गुरुङलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनाउन राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो ।

यस्तै, प्रधानमन्त्री ओलीकै सिफारीसमा मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको थियो ।

मन्त्रिपरिषद्को पुनर्गठनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषि तथा पशुपन्छी विकास चक्रपाणि खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रीबाट हटाइनु भएको छ।

त्यसरी नै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई पनि प्रधानमन्त्री ओलीले बर्खास्त गरी सो स्थानमा नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको छ।

Share Now

Leave a comment.